आर.के. चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा बुधवार मध्यरातमा आएको हावाहुरीले ठूलो क्षति पु¥याएको छ । अप्रत्याशित रुपमा आएको हुरीले स्थानीयको घरहरू भत्काउनुको साथै कृषि बाली र अन्य संरचनाहरूमा पनि व्यापक क्षति पु¥याएको छ ।गाउँपालिका अध्यक्ष ययवन्तकुमार यादव र वडा नम्बर २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले बिहीवार बिहान हुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा स्थानीयबासीसँग कुरा गर्दै उनीहरुले क्षतिको अवस्था बारे जानकारी लिएका थिए । उहाँले क्षतिको विवरण संकलन गरेर सक्ने सहयोग गर्ने आश्वासन पनि दिनुभएको थियो ।
अध्यक्ष यादवले भन्नुभयो, “हावाहुरीले धेरै घरहरूमा क्षति पु¥याएको छ र केही घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यसबाट समुदायमा ठूलो आर्थिक नोक्सानी भएको छ ।“ उहाँले संघीय र प्रदेश सरकार तथा अन्य सम्बन्धित निकायहरूसँग तत्काल राहत र पुनर्निर्माणका लागि सहयोग गर्न अनुरोध पनि गर्नुभएको छ ।त्यसैगरी वडा अध्यक्ष महतोले हावाहुरीको कारण धेरै कृषकहरूका बालीहरू नष्ट भएको बताउनुभएको छ । वर्षभरि खाने बाली नै नोक्सानी भएपछि किसानको जीविकोपार्जनमा गम्भीर असर परेको उहाँले बताउनुभयो । उहाँले स्थानीयबासीलाई मनोबल उच्च राख्न र सहायताका लागि आवश्यक कदमहरू चाल्न आग्रह गर्नुभएको छ । साथै, क्षतिको विस्तृत आकलनपछि पुनर्निर्माण कार्यको लागि योजना बनाएर काम गर्ने पनि उहाँको भनाई छ ।



















