नरेश गुप्ता

बरियारपुर,प्रदेश न २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले शिरमा देश र मनमा मधेशको भावना राखेर काम गर्नु पर्ने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यलय बाराद्वारा आयोजित कोभिड १९ को बारेमा पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अहिराजले सोमबार यस्तो बताउनुभएको हो । उहाँले समाज अतिवादको चपेटामा परेकोले राज्यप्रतिको विश्वास जोडन हरेक नागरिकलाई आग्रह गर्नुभएको थियो । राज्य र जनतालाई कसरी जोडने राष्ट्रप्रतिको विश्वासलाई कसरी अघि बढाउने भन्ने बारेमा संचारकर्मीले सकरात्मक संदेश सम्प्रेषण गर्नुपर्ने उहाँले बताउनुभयो । ‘हाम्रो प्रदेश हामी आफैले बनाउनु पर्छ, उहाँले भन्नुभयो, नागरिकलाई सम्बिधानप्रतिको आस्था एंव विश्वास जगाएर अघि अगाडि बढाउदै जानु पर्छ ।’

प्रदेश प्रमुख अहिराजले एक अर्को प्रसंगमा आफू प्रदेश प्रमुखमा आएको ६ महिना बितिसकेको र आफुले निजी स्वकीय सचिवालय नराखेको बताउदै निजामती कर्मचारी नै राज्यको अंङ्ग भएकोले राज्यको निकाय र सुरक्षाकर्मीमाथि विश्वास गर्नु पर्ने बताउनुभयो । ‘नेपाल सरकारको एक पैसा पनि प्रदेशमा कतै लगानी भएको छ भने त्यसको निगरानी गर्ने काम प्रदेश प्रमुख हो भन्दै नागरिकले तिरेको करको दुरुपयोग हुनुहुदैन उहाँले भन्नुभयो ।’

स्थानीय तहहरुमा बढेको भ्रष्टाचारको नियमन गर्ने निकाय सक्रिय नभएको र कोभिडले ल्याएको रोगभन्दा भोकको विकराल अवस्था बारे संचारकर्मीहरुले राखेको जिज्ञासामा प्रदेश प्रमुख अहिराजले प्रदेशले निगरानी गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले खुला सिमानाको कारण अपराध न्यूनीकरण उत्पन्न कठिनाइ, हुलाकी राजमार्ग निर्माण भएपछि बढेको सवारी दुर्घटना र जिल्लामा बढेका आगलागीका घटना बारेमा प्रदेश प्रमुख अहिराजको ध्यानाकर्षण गराउनु भएको थियो ।

जिल्लामा कोभिड १९ को पहिलो चरणमा १ हजार ७ सय ८६ संक्रमित रहेकोमा ३३ जनाको मृत्यु भएको र दोस्रो चरणमा यो संख्या बढेर २ हजार २ सय ४५ पुगेकोमा १ सय ५६ जनाले संक्रमणबाट ज्यान गुमाएको प्रजिअ पौडेलले त्यसअवसरमा जानकारी दिनुभयो । संक्रामक रोग ऐन २०२० बमोजिम सुरक्षाको मापदण्ड पालना गराउन जारी निर्देशनलाई आम नागरिकबाट नै उल्लंघन भएको प्रजिअ पौडेलले बताउनुभयो ।

निशेधज्ञा खुकुलो भएसंगै सुरक्षाको मापदण्ड अपनाएर रोगलेभन्दा भोकले कोही पनि मर्न नपरोस भन्ने मान्यतालाई ध्यानमा राखेर सबैले सुरक्षा मापदण्ड र भौतिक दुरी कायम गर्नु पर्ने प्रजिअ पौडेलले बताउनुभयो । सो अवसरमा बाराका प्रहरी प्रमुख दिपेन्द्र शाही, सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजित, प्रदेश २ प्रवास फोकल पर्शन विशेष कुमार साह, प्रदेश प्रमुख सचिव धुव्र गैडा र संचारकर्मीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here