वीरगञ्ज,पर्साको दुग्धेश्वर (भाटा बाबा) मन्दिरको नजिकबाट सोमवारबाट बेपत्ता भएका दुई जना युवकको शव फेला परेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर २ का राजकुमार मेघी र मनहरी गाउँपालिका वडा नम्बर ५ का रामबहादुर मोक्तानको शव बरामद भएको हो ।
उनीहरुको शव पर्सा राष्ट्रिय निकुञ्जको शितलपुर खोला नजिकबाट बरामद भएको हो । बेपत्ता दुई युवकको खोजीका लागि खटिएका उद्धार टोलीले उनीहरुको शव मंगलवार सवा ५ बजेको समयमा फेला पारेको उद्धार टोलीमा सहभागी सुमन ठाकुरले बताउनुभयो । उहाँका अनुसार जंगली हात्तीको आक्रमणबाट उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान छ ।
घटनास्थलमा हात्तीको पाइला समेत देखिएको उनले जानकारी दिनुभयो । मकवानपुरबाट भाटा बाबाको दर्शन गर्न आएका उनीहरु साउन १९ गतेदेखि बेपत्ता भएका थिए । उद्धार टोलीले घटनास्थलबाट मृतकको शवको मुचुल्का गरेर पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको ठाकुरले बताउनुभयो ।साउन महिनाको खासगरी सोमवार भाटा बाबाको मनिदर परिसरमा लाग्ने भेलामा दर्शनार्थीहरुको एक महिनासम्म घुइँचो लाग्ने गर्दछ ।
















