पुष्पराज खतिवडा
बारा,बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद एवं पूर्व कृषिमन्त्री ज्वालाकुमारी साहले बुधवार एक कार्यक्रमका बीच सटर सहितको एघारकोठे बजार सेड पक्की भवनको उद्घाटन गर्नुभएको छ ।जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १६ को श्रीपुरमा रहेको रिलायन्स सुगर मिल नजिकै चिनिमिल विद्यागर श्रीपुर कृषि बजार क्षेत्रमा नवनिर्मित भवनको उद्घाटन भएको हो ।

पूर्वमन्त्री साहको पहलमा कृषि मन्त्रालयको ८० लाख रुपैया बजेटमा स्थानीय अगुवा गोरख यादवको नेतृत्वमा भवन निर्माण सम्पन्न भएको हो ।उद्धाटन कार्यक्रममा बोल्नुहुँदै सांसद साहले कृषि मन्त्रालयमा छोटो समय मात्रै काम गर्न पाएको सुनाउँदै सो अवधिमा पनि धेरै काम गरेर देखाएको बताउनुभयो । “पटक पटक गरी एक सय २३ दिन मन्त्री भएर काम गर्दा किसानको उखुको अनुदान, दुधको बाँकी रकम भुक्तानी, सुन्तलालाई राष्ट्रिय फल घोषण र मल आपूर्तिमा सहजताकालागि नियमावली परिमार्जन गर्ने काम भए” पूर्वमन्त्री साहले भन्नुभयो । “यस अवधिमा ५० बढी स्थानमा डिप बोरिङका काम भएका छन् । कलैया, फत्तेपुर, डुमरवाना, विद्यानगर लगायतका आधा दर्जन स्थानमा ५ करोड बढीको लागतमा बजार सेड निर्माण भए । किसान र कृषिका क्षेत्रमा अझ धेरै गर्ने ईच्छा छ । यो क्षेत्रमा धेरै गर्नु पर्ने छ । सरकारले कृषि क्षेत्रमा सँधै उपेक्षा गरिरहेका छन् । कृषिलाई बजेटको प्राथमिकतामा पार्न जरुरी छ । त्यसो हुन नसक्दा समस्या भएको हो ।” पूर्वमन्त्री साहले भन्नुभयो ।
भवन निर्माण समितिका अध्यक्ष गोरख यादवका अनुसार लामो समयदेखि अव्यवस्थित रुपमा साताको दुई दिन संचालनमा आउने कृषि बजारका लागि यो भवन लाभदायी सावित हुने बताउनुभएको छ । उहाँका अनुसार श्रीपुर, झिट्कैंया, विद्यानगर सहित आधादर्जन गाउँका किसान एवं उपभोक्ता भवनबाट प्रत्यक्ष लाभांवित हुनेछन् ।
स्थानीय विद्यानगर प्राथमिक विद्यालयको करिब ८ कठ्ठा बजार समितिले उपभोग गरिरहेको छ । त्यसैको पूर्वपट्टीको भागमा भवन, भवनसँगै साँढे ५ हजार स्क्वायर क्षेत्रमा करिब ९३ लाखको लागतमा टायलिङ्ग सुविधायुक्त शौचालय पनि निर्माण भएको छ ।
भवनको उद्घाटनसँगै बजार भवनको चावी विद्यालयलाई हस्तान्तरण समेत गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी सांसद साहले विद्यालयका प्रधानअध्यापक अशोक पाण्डेलाई जिम्मा लगाउनुभएको हो ।
कार्यक्रममा नेकपा एमाले बाराका सचिव अमृतशर्मा बजगाँई, प्रधानाध्यापक पाण्डे, जनमत पार्टी बाराका ईन्चार्ज शिवनाथ पटेल, कलैया १६ नम्बरका वडाका कार्यवाहक अध्यक्ष ओमप्रकाश यादवलगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्थानीय किसान व्यापारी एवं सामाजिक अगुवाहरुको सभागिता थियो ।निर्माण समितिका अध्यक्ष गोरख यादवको अध्यक्षता, पूर्वजनप्रतिनि पुनदेव साहको स्वागत र स्थानीय यूवा दिलिप गुप्ताको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
















