वीरगन्ज,वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले संघीय सरकारले काम गर्न नै नदिएको आरोप लगाउनुभएको छ । बिहीबार वीरगन्जमा मानव अधिकार पत्रकार संघले आयोजना गरेको नेपाल भारत सीमा क्षेत्रका समस्या विषयक अन्तरकृया कार्यक्रममा बोल्दै सरावगीले आफूहरुले काम गर्न खोजे पनि संघीय सरकराले काम गर्ने वातावरण नै नदिएको आरोप लगाउनुभयो । उहाँले नेपाल भारत सीमामा हुदै आएको तस्करी पूर्ण रुपमा रोक्न नसकिने पनि बताउनु भएको छ । तस्करी पूर्ण रुपमा बन्द गरियो भने अपराधिक गतिविधि बढ्ने उहाँको भनाइ छ । सरावगीले गैरकानूनी कारोबारको लागत र कानुनी कारोबारको लागत बराबर नहुँदासम्म तस्करी नरोकिने बताउनुभयो । सरावगीले पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन पछि यता नेपाल भारत बिचको राजनीतिक सम्बन्ध बिग्रिएको पनि बताउनुभयो ।उहाले भारतीय संस्थापनसंग सिधा कुरा राख्ने आँट गिरिजा प्रसाद कोइरालामा रहेको भन्दै कोइरालाको निधनपछि त्यस्तो आँटीलो नेता कोहि नदेखिएका कारण दुई देशबीचको राजनीतिक सम्बन्धमा दरार आएको बताउनुभयो । सरावगीले दुई देशबीच राजनीतिक सम्बन्ध बिग्रिनुमा दुवै देशका मिडिया पनि जिम्मेवार रहेको आरोप लगाउनुभयो । केहि मिडियाले सत्य तथ्य भन्दा अतिरन्जित समाचार लेख्ने गरेका कारण दुवै देशबीचको राजनीतिक सम्बन्धमा चिसोपना आएको उहाँले बताउनुभयो ।
वीरगन्जमा रहेको भारतीय महावाणिज्यदूतावासले पनि दुई देशीय व्यपार र वाणिज्यमा सहजीकरण गर्नुका सट्टा राजनीतिमा बढी चासो राखेका कारणले दुइ देशबीचको सम्बन्धमा असर परेको उहाँले बताउनुभयो । नेपाल र भारतबीचको राजनीतिक सम्बन्धमा समस्या देखिए पनि दुई देशका नागरिकबीचको सम्बन्ध भने कसैले चाहेर पनि बिगार्न नसक्ने दाबी उहाँले गर्नुभयो । कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक वीरेन्द्र साहले नेपाल भारतका नागरिकबीच रोटी बेटीको सम्बन्ध रहेको भएपनि सरकारबीको सम्बन्धमा बेलाबेलामा समस्या देखिने गरेको बताउनुभयो । जसका कारण सिमा क्षेत्रका नागरिकले समस्या भोग्नु परेको उहाँको भनाइ थियो । भारतीय संस्थापन पक्षले नेपाललाई भाइ र भारतलाइ दाइ ठान्ने प्रवृति नेपाललाई कदापि स्वीकार्य नभएको उहाँले बताउनुभयो । भारत रक्सौलका पत्रकार दीपक अग्निरथले भने कोभिड १९ महामारीका कारण दुई वर्षयता नेपाल भारत सीमा नाका पूर्ण रुपमा नखोलिदा दुई देशको जनस्तरको सम्बन्धमा समस्या हुन थालेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने र पत्रकार नम्रता शर्माले सीमा क्षेत्रका समस्या बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
मानव अधिकार पत्रकार संघका अध्यक्ष घनश्याम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का पर्सा, बारा, सर्लाही, महोत्तरी र धनुषा जिल्ला र भारतको रक्सौलका सन्चारकर्मीका साथै नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष अनुप तिवारीको पनि सहभागीता थियो ।