सिमरा,सर्वोच्च अदालतले १९ वर्ष पुरानो रौतहटको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित परेको रिटमा परमादेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमवार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको हो ।

पीडित परिवारका तर्फबाट त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । २०६३ साल चैत ७ गते गौरस्थित राइस मिलमा आयोजित कार्यक्रममा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटनाको पुनः अनुसन्धान र दोषीमाथि मुद्दा दायर गर्न पीडित परिवारले माग गरेका थिए ।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएको भएपनि त्यसमा छानबिन नभएको दाबी गर्दै अदालतको सहयोग खोजेका हुन्।घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष रहेका उपेन्द्र यादवसहित अन्य फोरमका नेता र कार्यकर्ताको संलग्नता रहेको दाबी गरिँदै आएको छ।मुद्दामा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले यस घटनाको छानबिन तीव्र रूपमा अगाडि बढाउनु पर्नेछ।

 

Leave a Reply