दुष्यन्त चौधरी
कोल्हवी । कोल्हवी नगर उद्योग वाणिज्य संघको निर्वाचनको अन्तिम परिणाम शनिबार सार्वजनिक भएको छ । निर्वाचन अधिकृत केबल प्रसाद चौधरीले अन्तिम नतिजा सार्वजनिक गर्दै विजयी उम्मेदवारहरूको घोषणा गर्नुभएको छ ।
अध्यक्ष पदमा राम प्रसाद प्रसाईंले १२७ मत प्राप्त गर्दै स्पष्ट विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रमोद साह तेलीले ५४ मत र लक्ष्मी प्रसाद कलवारले ८९ मत प्राप्त गर्नुभयो । बिरेन्द्र प्रसाद चौधरी मात्र २ मतमा सीमित हुनुभयो ।
वाणिज्यतर्फ उपाध्यक्ष पदमा प्रेम नारायण चौधरी २०५ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी प्रह्लाद साह तेलीले ११२ मत, कैलाश साह तेलीले १८ मत प्राप्त गर्नुभयो ।
उद्योगतर्फको उपाध्यक्षमा बिनोद साह र रमेश विश्वकर्माले समान १२६ मत प्राप्त गर्दा, गोला प्रथाबाट बिनोद साह विजयी घोषित हुनुभयो । धनि शंकर साहले ८१ मत प्राप्त गर्नुभयो ।
महासचिवमा हरिओम कुमार साह १९१ मतसहित निर्वाचित भए । कोषाध्यक्षमा प्रेम कुमारी चौधरी १२९ मतसहित विजयी रहिन् भने राजु लामा तामाङ १२० र राजन कुमार जयसवाल ८२ मतमा रोकिए । सचिव पदमा बिरेन्द्र गुप्ताले १६१ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो ।
उल्लेखनीय रूपमा, कुल ३५३ मतपत्रमध्ये ३४१ मत गणना गरिएको थियो । प्रसाईं स्टेसनरीका सञ्चालक राम प्रसाद प्रसाईंको यस जितले संघमा ठूलो जनसमर्थन दर्शाएको छ ।


















