नरेश गुप्ता
बरियारपुर,काम नै नगरी उपभोक्ता समितिमार्फत सिम्रौनगढ नगरपालिकाले रकम भुक्तानी गरेको पाइएपछि प्रदेश सरकारले छानबिन शुरु गरेको छ । आर्थिक वर्ष ०७७÷०७८ मा सिम्रौनगढ नगरपालिकाले प्रदेश नम्बर २ सरकारबाट प्राप्त करिव ५ करोड रुपैयाका विभिन्न योजना मध्ये तीन करोडको योजनामा कामै नगरी भुक्तानी गरेको पाइएपछि छानबिनको लागि अनुगमन टोली नगरपालिकामा आएको प्रदेश नम्बर २ का सभामुख सरोज यादवले बताउनुभयो ।
प्रदेश नम्बर २ का उपसभामुख एवं अनुगमन समितिका संयोजक उपमा देबीको अगुवाइमा आएको टोलीले सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र साहलाई भेटेर योजनाको बारेमा जानकारी लिएको थियो । अनुगमन टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर १ स्थित रानिबास मन्दिर नजिक रहेका विभिन्न ६ वटा योजनाको स्थलगत निरीक्षण गर्दा खेलकुद भवनको निर्माण कार्य असार ३१ गतेदेखिमात्र शुरु गरिएको पाइएको सभामुख यादवले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले भवन निर्माणको लागि ७ महिनाअघि नै २० लाख रुपैया नगरपालिकामा पठाएको थियो ।
सभामुख यादवको संसद विकास कोषमार्फत नगरपालिकामा बीस÷बीस लाख रुपैयाका विभिन्न ६ वटा योजना छनौट भइ प्रदेश सरकारबाट रकम निकासा भएको थियो । जसमध्ये सामुदायिक भवन, बर्थिङ्ग सेन्टर, खेलकुद भवन, सिमरौनगढ संग्राहलय, कचोर्वा विद्यालयमा कामै नगरी उपभोक्ता समितिमार्फत भुक्तानी गरेको पाइएको सभामुख यादवले बताउनुभयो ।
त्यसैगरी २० लाख रुपैया भुक्तानी गरेर पनि सिम्रौनगढ नगरपालिका वडा नम्बर १ मा रहेको अशोक मिलदेखि हरिहरपुर जाने बाटोको ढलान नभएको र जोडा पिपलको रुखदेखि रानिबास मन्दिरसम्मको ६० लाख लागतको सडक ढलान कार्य पनि बाँकी रहेको बताइएको छ । सिम्रौनगढ नगरपालिकाको कार्यलयले उपभोक्ता समितिमार्फत काम गर्ने संझौता गरेर रकम निकासा गरेको वडा अध्यक्ष प्रमानन्द मुखियाले बताउनुभयो । आर्थिक वर्ष ०७७÷०७८ सकिन लाग्दा नगरपालिकाले प्रदेश स्तरीय बजेटबाट संचालन गर्नु पर्ने विभिन्न योजनामा काम नै नगरी भुक्तानी गरेपछि छानबिनको लागि मन्त्रालयले अनुगमन समिति बनाएको थियो । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत साहले आफु सरुवा भइ भर्खरमात्र कार्यालयमा आएको र योजना बारे जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।