निजगढ,बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले निर्माणाधिन निजगढ– काठमाण्डौ द्रुतमार्ग (फास्ट ट्रयाक) को प्रभावित क्षेत्र निजगढमा सामाजिक उत्तरदायित्व अन्तर्गत विकास निर्माणका योजनाहरु संचालन गर्न रक्षमन्त्री मानवीर राईलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको छ ।सांसद मैनालीसहित निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, साविक निजगढ गाविसका अध्यक्ष एकबहादुर श्रेष्ठको टोलीले आइतवार सिंहदरवारस्थित रक्षा मन्त्रालयमा पुगेर मन्त्री राईलाई पत्र बुझाएको हो ।
प्रभावित क्षेत्रका बासिन्दाहरुको हितको लागि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजना कार्यालयले निश्चित रकम लगानी गर्नुपर्ने कानुनी व्यवस्था रहेको भएपनि निजगढ क्षेत्रमा नेपाली सेनाले वृक्षारोपण बाहेक अन्य कार्यक्रम संचालन नगरेकाले लाभदायी योजनाहरु संचालनको माग गर्दै आफूले मन्त्री राईलाई ध्यानाकर्षणपत्र बुझाएको सांसद मैनालीले जानकारी दिनुभयो ।ध्यानाकर्षणपत्रमा निजगढ नगरपालिका ४ को मोहोरीस्थित बकैया खोलमा चेक ड्याम, बकैया नदी किनारामा जलाशय निर्माण र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बकैया पुलदेखि उत्तर मोहोरी पार्कसम्म र दक्षिणतर्फ निजगढ ९ को बकैया आर्यघाटसम्म आवश्यक तटबन्ध निर्माण गरिनुपर्ने मन्त्री राईसंग माग गरिएको छ ।
साथै, स्थानीय किसानले लामो समयदेखि सिँचाइमा प्रयोग गर्दैआएको बाघभैरव मुल कुलो मर्मत र सिँचाइको दीर्घकालीन व्यवस्थापन गर्न नयाँ योजना संचालन गर्न पनि मन्त्री राईको ध्यानाकषर्ण गराइएको छ ।आफूहरुको मागमा मन्त्री राईले सकरात्मक प्रतिक्रिया जनाउनुभएको र आवश्यक समन्वय गरी कार्यान्वयन गर्ने बताएको सांसद मैनालीले जानकारी दिनुभयो ।
‘निजगढका जनता लाभान्वित हुने योजनाहरु संचालन गर्न माग गरेका छौं, सांसद मैनालीले भन्नुभयो मन्त्रीज्यूले पनि आयोजना कार्यालयसंग आवश्यक समन्वय गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’निजगढ नगरपालिका कार्यालयले पनि यसअघि द्रुतमार्ग आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लगानी गर्न पटक पटक माग गर्दैआएको नगर प्रमुख पुरीले सुनाउनुभयो । ‘हामीले शुरुदेखि नै माग गर्दैआएका छौं, नगर प्रमुख पुरीले भन्नुभयो, तर यो पटक भने कार्यान्वय हुने आशा बढेको छ ।’आयोजनाको शुरु विन्दुको रुपमा रहेको निजगढ नगरपपालिकाभित्र सो सडकको करिव १० किमी खण्ड पर्दछन ।

















