जीतपुर,

मनोज शाह
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ स्थित सहयात्री युवा क्लबको आयोजनामा आज एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालयको मुख्य सहयोग तथा आर्यम केडिया आँखा अस्पताल वीरगञ्ज र नेपाल नेत्र ज्योति सङ्घको सहकार्यमा शिविर आयोजना गरिएको हो । शिविरमा कुल २८३ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए ।
आँखा परीक्षणका क्रममा ८५ जनामा मोतियाबिन्दु, ८ जनामा टोरिजियम (मासु बढेको) तथा ५५ जनामा दृष्टिदोष देखिएको पारिवारिक शाखाका सुदर्शन काफ्लेले जानकारी दिनुभयो ।
सहयात्री युवा क्लबका अध्यक्ष राजाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका माननीय देवनारायण चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले आँखा नै दुनिया हेर्ने मुख्य माध्यम भएको उल्लेख गर्दै आँखाको महत्व जीवनमा अत्यन्तै अनिवार्य रहेको बताए। आँखाविना जीवन अन्धकारमय बन्ने उहाँले स्पष्ट पार्नुभयो ।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष क्यामोदिन अन्सारी, नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, वडा सदस्य बुद्ध कुमारी अधिकारी, स्थानीय समाजसेवी कमल होदा अन्सारी तथा नेपाली कांग्रेसका युवा नेता अल्टर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।शिविरमा आर्यम केडिया आँखा अस्पतालका डाक्टर शिवशंकर प्रसाद, डाक्टर रामदेव शाह, डाक्टर कौशल कर्ण तथा नेत्र सहायक सुदर्शन प्रसाद काफ्लेको टोलीले आँखाको परीक्षण गरेको थियो ।निःशुल्क आँखा शिविरमा जीतपुर, रमौली, रामवन, झबराहा, सिमरालगायत आसपासका क्षेत्रका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply