वीरगन्ज,वीरगन्जको नारायणी अस्पतालमा रहेको सरकारी औषधि पसल अर्थात फार्मेसीमा औषधिको अभाव हुँदा बिरामी र सेवाग्राहीहरु नीजी औषधि पसलबाट औषधि किन्न बाध्य भएका छन् ।
चार वर्षअघि सरकारले उपलब्ध गराएको २० लाख रुपैयाको लागतमा नारायणी अस्पतालले सन्चालनमा ल्याएको फार्मेसी त्यहा कार्यरत कर्मचारीहरुको लापरवाहीका कारण अस्तव्यस्त बनेको छ । चार वर्षअघि फार्मेसी खुलेको बेलामा दैनिक ५० हजार रुपैया भन्दा बढीको औषधि बिक्री हुने गरेकोमा अहिले भने दिनको ७ हजार भन्दा कमको औषधि बिक्री हुने गरेको अस्पतालले जनाएको छ । फार्मेसीबाटै त्यहाँ कार्यरत कर्मचारीको तलब सुविधा दिने व्यवस्था गरिएकोमा अहिले फार्मेसी दुरावस्थामा पुगेको हो । चिकित्सकले बिरामीलाई लेख्ने औषधि मध्ये थोरै मात्र फार्मेसीले दिने गरेको छ । पहुँच भएकाहरूले मात्रै फार्मेसीबाट औषधि पाउने गरेको तर सर्वसाधरण बिरामीहरूलाइ भने त्यहा कार्यरत कर्मचारीहरुले औषधि नै नरहेको भन्दै रित्तो हात फर्काइ दिने गरेका छन् । स्वास्थ्य बीमा गरेकाहरूको लागि अस्पतालको फार्मेसीबाट निशुल्क औषधि वितरण गर्ने व्यवस्था गरिएको छ । तर स्वास्थ्य बीमा गराएकाहरूबाट फार्मेसीका कर्मचारीहरुले फाइदा मात्र लिने तर औषधि भने नदिने गरेका छन् । अस्पतालको फार्मेसीमा जाँदा औषधी नभएको भनी फर्काउने गरेको वीरगन्ज महानगरपालिका १२ मुर्ली निवासी विनोद कुशवाहाले बताउनुभयो । पर्साको छिपहरमाई गाउँपालिका ५ भिस्वाका विकासकुमार पाण्डेले पनि फार्मेसीमा औषधि नपाउँदा बाहिरबाट औषधि किनेर ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । स्वास्थ्य बीमा गरेकाहरू चिकित्सकले लेखेको पुर्जी लिएर फार्मेसीमा जादा त्यहाका कर्मचारीहरुले पुर्जीमा लेखे अनुसारको औषधि नभएको भन्दै पुर्जी राखेर बिरामीलाई रितो हात फर्काइदिने गरेका छन् । त्यसपछि त्यो पुर्जी कर्मचारीले बीमा बोर्डसँग पुर्जी अनुसारको औषधि दिएको दाबी गर्दै रकम निकासा गराउदै आएका छन् । यस्तै गुनासो आएपछि अहिले नारायणी अस्पतालको फार्मेसीले दाबी गरेको बीमाबापतको ७० लाख बीमा बोर्डले रोकेर राखेको छ । अस्पतालमा कम्प्युटराइज बिलको व्यवस्था भएपनि बिरामीलाई दिने औषधि र बीमामा दाबी गर्ने औषधि नमिल्दा हस्त लिखित बिलको प्रयोग हुने गरेको बीमा बोर्डको आशंका छ । फार्मेसी सञ्चालन भएदेखि अहिलेसम्मको औषधि खरिद र बिक्रीको विवरण फार्मेसीका कर्मचारीले अस्पताल प्रशासनलाई नबुझाएकोले फार्मेसीमा व्यापक अनियमितता भएको आशंका गरिएको छ । यस बारेमा अस्पताल प्रशासनले बारम्बार ताकेता गर्दा पनि फार्मेसीका कर्मचारीले अटेरी गर्दै आएको अस्पताल स्रोतले जनाएको छ । फार्मेसी सन्चालनका लागि एकजना अधिकृत तहका इन्चार्ज, चार जना फार्मेसी सहायक र एकजना कार्यालय सहयोगी करारमा राखिएका छन् । उनीहरूलाई अहिले सरकारले पठाएको स्वास्थ्य जोखिम भत्ताबाट तलब सुविधा उपलब्ध गराइएको छ । फार्मेसीका इन्चार्ज हरेन्द्र यादवले फार्मेसीको अवस्था जर्जर भएको स्वीकार्नु भएको छ । उहाँका अनुसार फार्मेसीमा औषधि व्यवस्था विभागमा दर्ता रहेका १३ सय प्रकारका औषधिमध्ये अहिले १५० प्रकारका औषधि मात्र स्टक छ । अहिले करीब २५ लाखको औषधि स्टक रहेको उहाँले बताउनुभयो ।
दुई वर्षदेखि कोरोनाको कारण ओपिडी, मेडिकल र सर्जिकल वार्ड प्रभावित भएकाले औषधि बिक्रीमा गिरावट आएको उहाँको दबी छ । इन्चार्ज यादवले चिकित्सकले लेख्ने कम्पनीको औषधि फार्मेसीमा नहुने र फार्मेसीमा भएका औषधि चिकित्सकले नलेखिदिने तथा लेखिएको औषधिको कम्पोजिसन मेल खाने गरी दिंदा बढी विवाद हुने गरेको बताउनुभयो ।