निजगढ,नाबालिकामाथि बलात्कार गरेको आरोप लागेपछि फरार रहेका निजगढ नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीको फरार सुचिमा रहेका वडा अध्यक्ष श्रेष्ठलाई आइतवार साँझ ८.३० बजे इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो । श्रेष्ठलाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो ।छिमेककी एक १५ वर्षिय एक किशोरीलाई जबरजस्ति करणी गरेको आरोप लागेपछि वडा अध्यक्ष श्रेष्ठ ३ महिनादेखि फरार रहेका थिए । गत असोजमा छिमेकी किशोरीमाथि जवरजस्ति करणी गरेको अभियोगमा प्रहरी कार्यालय निजगढमा श्रेष्ठ विरुद्ध गत असोज २५ गते जाहेरी दर्ता भएको थियो ।जबरजस्ति करणी अभियोगमा जाहेरी परेपछि जिल्ला अदालत बाराले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । खोजतलास क्रममा प्रहरीले श्रेष्ठ लुकेर बसेको हुनसक्ने शंभावित स्थानमा निगरानी बढाउनुको साथै मोबाइल फोनसमेत ट्यापिङ्ग गर्दै आएको थियो । ‘प्रहरीले खोजतलास र निगरानी तीव्र पारेपछि बाध्य भएर प्रहरी समक्ष आफै आएका छन, निरीक्षक ओलीले भन्नुभयो, अभियुक्त श्रेष्ठलाई सोमवार जिल्ला अदालतमा पेस गरी म्याद लिएर थप अनुसन्धान गरिने छ ।’श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।




















