बारा, ११ मंसिर । बाराको कलैया उपमहानगरपालिका–१ स्थित मिठाई पसलका दुईवटा कारखानामा संयुक्त अनुगमन टोलीले छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएपछि सुदामा स्विट्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सुशील यादवको नेतृत्वमा गएको संयुक्त टोलीले सुदामा स्विट्सको कारखानामा अनुगमन गर्दा मिठाई खान अयोग्य अवस्थामा रहेको, हाइड्रो प्रयोग गरिएको तथा सरसफाइमा ध्यान नदिएको पाइएको थियो ।
उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट ढाँटी, लुकाई वा झुक्याई बिक्री तथा सेवा प्रदान गरेको कसुरमा उक्त जरिवाना गरिएको यादवले जानकारी दिए ।
टोलीले सुदामा स्विट्सका सञ्चालकलाई आवश्यक सम्पूर्ण कागजातसहित सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।
त्यसैगरी, कलैया–१ स्थित सिद्धार्थ स्विट्सको कारखानामा पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा नापतौलका लागि प्रयोग हुने काँटाको अनुमति पत्र पेस गर्नुपर्ने देखिएपछि सञ्चालकलाई तीन दिनभित्र अनुमति पत्रसहित गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा उपस्थित हुन निर्देशन दिइएको यादवले बताए ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख सुनिल चौरसिया, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख जयकुमार राउत, गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका सहायक निरीक्षक श्रीकान्त चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका श्रवणकुमार साह तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक राजेश सहनीलगायत सहभागी थिए ।
उपभोक्ताको स्वास्थ्य र खाद्यवस्तुको गुणस्तरलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने टोलीले जनाएको छ ।

















