पुष्पराज खतिवडा
मनहर्वा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले पालिकाभित्र किसानले पालेका सुत्केरी गाईभैसीको लागि निःशुल्क खुराकी वितरण गर्दैआएको छ ।पालिकाभित्रका किसानले पालेका गाईभैसी सुत्केरी हुँदा एक साताका लागि आवश्यक भिटामिन, मिनरल लगायत सामग्री निःशुल्क वितरण सुरु गरेको हो ।
कार्यालयले गत चैत्र महिनाको ७ गतेबाट यस्तो सुविधा उपलब्ध गराउन थालेको हो । गाईभैसी सुत्केरी हुँदा मिल्क फिवर लगायतका समस्याको संभावना अत्याधिक हुने भएकाले सोको रोकथामका लागि पालिकाले एक हजार रुपैंया बराबरको भिटामिन, मिनरल (पोषक तत्व) र लिभर टोनिक निःशुल्क वितरण गर्ने गरेको छ ।यस अवधिमा पालिकाका ४३८ गाईभैसी पालक २ सय ८८ कृषकले यो सुविधाको लिदैआएको जीतपुरसिमरा उपमहानगरपालिका पशुपंन्छी व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख पशु चिकित्सक डा. सुभाष झाले बताउनुभयो ।
सुविधा लिनेको संख्या आगामी असार मसान्तसम्म एक हजारभन्दा बढी पुग्ने अनुमान गरिएको छ । यसबाट पशुपालक किसानलाई राहत पुगेको स्थानीयले बताएका छन । पालिकाको सुत्केरी गाईभैसीलाई सात दिनका लागि आवश्यक मिनरल, भिटामिन वितरण कार्यक्रम अन्तर्गत यस्तो सहयोग गरिएको चिकित्सक झाले बताउनुभयो ।सुत्केर पोषण सुविधा लिन भर्खरै व्याएका गाईभैसीको बाछाबाछी वा पाडापाडीसहितको एकप्रति रंगिन वा साधा फोटो, सम्बन्धीत वडा कार्यालयको सिफारिस र पशुधनीको नागरिकता प्रमाण पत्रको एकप्रति फोटोकापी बुझाउनुपर्ने व्यवस्था कार्यालयले गरेको छ । यसरी रितपूर्वक आएका पशुपालक किसानलाई पशु संख्याको आधारमा एउटा पशु बराबर लिभर टोनिक एक लिटर, मिनरल १ केजी र मल्टी भिटामीन १२० एमएल निःशुल्क उपलब्ध गराइने कार्यालय प्रमुख एवंम पशु चिकित्सक डा.झाले जानकारी दिनुभयो ।गत असार १३ गते भएको आठौं नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८-०८१ को बजेटमा गाईभैसी सुत्केरी हुँदा एक हजार रुपैंया बराबरको खुराक खर्च दिने निर्णय गरेको थियो । पशुपालक किसानलाई सहयोग गर्ने उद्देश्यले गत श्रावण महिनाबाट शुरु गर्ने भनिए पनि कार्यालयले ढिला गरेर कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।


















