वीरगन्ज,लागूऔषध कारोबारीले भारतीय सवारीसाधन मार्फत पनि नेपालमा लागूऔषधको तस्करी सुरु गरेका छन् । नेपाली नम्बरको गाडीमा हुँदै आएको लागूऔषध तस्करीलाई प्रहरीले कडा रुपले नियन्त्रण गर्न थालेपछि कारोबारीहरुले भारतीय सवारीसाधन प्रयोग गर्न थालेका हुन् ।
भारतीय गाडीमा लागूऔषध तस्करीको एउटा घटना प्रकाशमा आएपछि कुरा बाहिरिएको हो । प्रतिवन्धित लागूऔषधसहित भारतबाट प्रवेश गर्ने तयारीमा रहेको एउटा ट्रक भारतीय प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
भारतीय प्रहरीले रक्सौल कस्टमबाट वीरगन्ज–रक्सौल नाकास्थित आईसीपी हुँदै नेपाल प्रवेश गर्न तयारीमा रहेको लागूऔषध लोड गरिएको ट्रक जफत गरेको हो ।
विशेष सूचनाको आधारमा भारतीय कस्टमको एन्टी स्मगलिङ्ग युनिटले आईसीपी बाहिर पार्क गरेर राखिएको एनएल ०१ एबी ३६१२ नम्बरको भारतीय ट्रकबाट १ हजार १ सय ७० थान कफ सिरप बरामद गरिएको जनाएको छ । प्रहरीका अनुसार ट्रकको निच्लो केबिनमा लुकाएर राखिएको अवस्थामा लागूऔषधहरु बरामद गरिएको थियो । ट्रकसहित जफत गरिएको लागूऔषधको प्रहरीले १ करोड ८० लाख रुपैयाँ भारु मुल्यांकन गरेको छ ।