जनकपुरधाम । नेपालको जनकपुरधाम र भारतको धार्मिक नगरी अयोध्यालाई जोड्ने विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणकै क्रममा सेवा सञ्चालनको औपचारिक सुरुवात गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ।
पराजुलीले यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा निकायका अधिकारीहरूबीच विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए। यद्यपि, रेल सेवाको उद्घाटन मिति भने औपचारिक रूपमा तय भइसकेको छैन।
प्रधानमन्त्री शाहको आगामी ६ मंसिरदेखि हुने भनिएको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
रामायण सर्किटअन्तर्गत सञ्चालन गर्ने लक्ष्य राखिएको उक्त रेल सेवाका लागि प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका विषयमा दुवै देशले तयारी गरिरहेका छन्। रेल यात्राका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।
यसैक्रममा केही दिनअघि नेपाल र भारतका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूको संयुक्त टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि दुवै देशको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ। विशेषगरी माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्या रेलमार्गबाट जोडिँदा रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई आवतजावत गर्न सहज हुनेछ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले यस सेवाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार दुई देशका महत्वपूर्ण धार्मिक गन्तव्यलाई प्रत्यक्ष रेल सेवाले जोड्दा पर्यटकको आवागमन बढ्नुका साथै व्यापार, होटल तथा पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्नेछ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। प्रस्तावित विशेष रेल सेवाले भने जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटनको नयाँ मार्ग खोल्ने अपेक्षा गरिएको छ।
















