निजगढ,मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सिम्रौनगढ नरपालिकामा गत हप्ता एकजना स्थानीयको ज्यान जाने गरी भएको घटनामा आफ्नो नामसमेत मुछेर प्रचार गरिएकोभन्दै असन्तुष्टि जनाउनुभएको छ ।बाराको निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलस्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो असन्तुष्टि जनाउनुभएको हो । ‘सर्वसाधारणको ज्यान जाने गरी अत्यन्त दुखद घटना भएको छ, मुख्यमन्त्री यादवले भन्नुभयो, तर केही मानिसहरुले नियतवश मेरो नाम पनि जोडेर सर्वसाधारण जनतामा भ्रम सृजना गर्ने प्रयास गर्दैआएका छन ।’ उहाँले प्रहरीको गोली लागेर मृत्यु भएको घटनामा प्रदेशका मुख्यमन्त्रीको हात कसरी हुनसक्छ भन्ने प्रश्न पनि गर्नुभयो । ‘प्रहरी प्रदेशको नभएर संघीय सरकारको मताहातमा छ, संघीय सरकारका गृहमन्त्रीको आदेश बेगर उनीहरु प्रदेश सरकारलाई वास्ता पनि गर्दैन, उहाँले भन्नुभयो, यस्तो अवस्थामा मुख्यमन्त्रीको निर्देशनमा प्रहरीले गोली चलाएको भनेर आरोप लगाउनुमा कुनै तुक छैन ।’ उहाँले आफनो सरोकार नै नभएको विषयमा निराधार आरोप नलाउन पनि आग्रह गर्नुभयो ।मुख्यमन्त्री यादवले आफूले प्रहरी र कर्मचारी समायोजनको लागि प्रधानमन्त्री पुष्पकमल दहालसंग पटकपटक भेट गरेको स्मरण गराउदै प्रहरीलाई प्रदेश सरकारको अधिनमा राख्न नसकेसम्म आफूहरुले कुनै काम गर्न नसक्ने पनि बताउनुभयो ।सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउने क्रममा भएको झडपमा प्रहरीको गोली लागेर ६ दिनअघि स्थानीय लक्ष्मी मुखिया बिनको ज्यान गएको थियो । मुख्यमन्त्री यादवको निर्देशनमा प्रहरीले गोली चलाएको भन्दै सोको विरोधमा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ क्षेत्रीय समितिको आह्वानमा कांग्रेस कार्यकर्ताहरुले निजगढमा भेला भएर ३ घण्टासम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । कांग्रेस कार्यकर्ताहरुले मुख्यमन्त्रीको निर्देशनमा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवले गोली प्रहार गरेको आरोप लगाउदै आएका छन ।मुख्यमन्त्री यादवले उपप्रमुख र नेपाली कांग्रेस समर्थक केही वडा अध्यक्षहरुले हाजिर गर्न बोलाएपछि प्रमुख प्रशासकीय अधिकृत मिश्र नगर प्रमुख किशोरीप्रसाद कलवारसहित कार्यालयमा पुगेपछि आन्दोलनको नाममा गेटमा बसेका केही मानिसहरुले कोठमा थुनेर जबरजस्ति गर्ने प्रयास गरेपछि प्रहरीसंग झडपको अवस्था उत्पन्न भएको बताउनुभयो । उहाँले उनीहरुले नै नियतवश घटना गराएको आरोप पनि लगाउनुभयो ।सिम्रौनगढ नगरपालिकाका पूर्व मेयर विजयशंकर यादवले आफ्नो कार्यकालमा आवश्यकताभन्दा अधिक नगरपालिकालाई आर्थिक भार हुने गरी करारमा कर्मचारी भर्ना गरिएका ति कर्मचारी हटाउने विषयमा सहमति हुन नसक्दा नगरपालिकामा विवाद चल्दैआएको पनि सुनाउनुभयो ।‘३ सय कर्मचारी करारमा भर्ना गरिएका छन, उहाँले भन्नुभयो, बार्षिक ९ करोड रुपैया तलबमा मात्रै खर्च हुन्छ, २ सय जनाको त कार्यालयमा नामो निसाना पनि भेटिदैन ।’ उहाँले पूर्वमेयर विजयशंकरले तलबको ५० प्रतिशत रकम आफूले लिने गरी करारमा कर्मचारी भर्ना गरेको र अनियमितता गरेको पनि बताउनुभयो । उहाँले ५ वर्षअघि प्रदेश सरकारबाट २०÷२० लाखका ६ वटा योजना पठाएको तर काम नै नगरी भ्रष्टाचार गरिएको पनि बताउनुभयो । यही आरोपमा अख्तियार तत्कालिन मेयर विजयशंकर विरुद्ध मुद्दा चलिरहेको पनि उहाँले जानकारी दिनुभयो ।त्यसैगरी अर्को प्रशंगमा मुख्यमन्त्री यादवले निजगढमा विकासको लागि एकता देखेर आफु उत्साहित भएको बताउनुभयो ।
‘विकासका लागि राजनीतिक दलहरु सबै मिलेर आउँनुहुन्छ,’ मुख्यमन्त्री यादवले भन्नुभयो, यस्तो एकताले मलाई उत्साहित बनाउँछ । त्यसैले यहाँको कार्यक्रममा आउन मलाई मनपर्छ ।मुख्यमन्त्री यादवले आफु सभामुख हुदाँ निजगढका विद्यालयमा प्रदेश सरकारबाट साईकल पठाएको भन्दै अहिले पनि यहाँका विद्यालयलाई आवश्यक परेको सहयोग गरिरहेको र थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।उहाँले निजगढमा मधेस प्रदेश स्तरीय लागु औषध नियन्त्रणका लागि केन्द्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले जग्गा उपलब्ध भएसँगै चाँडो भन्दा चाँडो केन्द्र बनाउने योजना रहेको बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, प्रदेश सांसद त्रिलोकीप्रसाद चौधरी, निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, नेपाली कांग्रेस निजगढका मोहन सापकोटा, नेकपा (एमाले) निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढका कुमार लामा, राप्रपा निजगढका अध्यक्ष खड्गप्रसाद उप्रेती, नेकपा (एकीकृत सामाजवादी) निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मंसुर, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, पूर्व विद्यार्थी रविराज दंगाल, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का अध्यक्ष रविकुमार बर्तौला, सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा लगायतले सम्बोधन गरेका थिए ।कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष घनश्याम तिमल्सिना, रास्वपा निजगढ नगर अध्यक्ष रामहरी खरेल, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, विभिन्न संघसंस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको कार्यक्रमको सजिकरण विद्यालय प्रधानाध्यापक यादवकुमार तिमल्सिना, श्रीहरी न्यौपानेले गरेका थिए ।कार्यक्रममा विद्यालयको विकासका लागि योगदान दिएका पूर्व व्यवस्थापन समिति, पूर्वप्रधानाध्यापक, शिक्षक, सहयोगी दाता, जागरुक अभिभावक लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री र विज्ञान प्रदर्शनीको साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply