नरेश गुप्ता
बरियारपुर,बाराको सुवर्ण गाउँपालिकाको सनफुलवाबाट सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजादै गरेको भन्ने सूचनाको अधारमा खटेको सशस्त्र प्रहरीले ४५ किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वाड टोलीले सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुलवा नाकाबाट सो गाँजा बरामद गरेको हो । केही मान्छेहरुले टाउकोमा बोकेर सिमापारि भारततर्फ गइरहेको नाकामा खटिएको स्कवाड टोलीलाई देख्नसाथ तस्कर भने गाँजा छोडेर फरार भएको प्रहरीले बताएको छ ।
बरामद गाँजा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । पछिल्लो समय यो नाकाबाट नेपालमा उत्पादन भएको गाँजा भारततर्फ तस्करी गर्ने क्रम बढेको छ । यस क्षेत्रबाट हरेक महिनाजस्तो तस्करी हुदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गर्दै आएको छ ।

















