कलैया,नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पार्टीको जिल्ला सभापति पदबाट निलम्बन गरेको छ ।प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्ने आरोपमा सोधिएको स्पटीकरण पत्रलाई बेवास्था गरेको भन्दै यादवलाई अनुशासन समितिले निलम्बित गरिएको जनाएको हो । सोही अभियोग लागेका जिल्ला उपसभापति अमिरिलाल पाललाई भने समितिले सफाइ दिएको छ ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा जारी प्रेस विज्ञप्ति अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप सम्बन्धी उजुरीका आधारमा यादवसँग स्पष्टीकरण माग गरिएको थियो ।सभापति यादव, उपसभापति पालसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको थियो ।

२०८३ वैशाख ३० गते पहिलो पटक पाँच दिन र जेठ १२ गते दोस्रो पटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरिए पनि यादवले दुबैपटक जवाफ नदिएको सचिव थापामगरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।उक्त उजुरीको अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने र यादवलाई जिल्ला सभापतिको जिम्मेवारीमा कायम राख्दा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने निष्कर्षसहित नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अन्तिम निर्णय नभएसम्मका लागि उहाँलाई बारा जिल्ला सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

यसैगरी बारा जिल्ला कार्यसमितिका उपसभापति पाल विरुद्ध परेको उजुरीका सम्बन्धमा भने समितिले सफाइ दिएको छ । अनुशासन उल्लंघनको आरोपमा उहाँसँग स्पष्टीकरण मागिएकोमा राउतले भने निर्धारित समयभित्र जवाफ पेस गर्नुभएको थियो ।समितिले जवाफ तथा सम्बन्धित कागजातहरूको अध्ययन र थप जाँचबुझपछि राउतको स्पष्टीकरण सन्तोषजनक रहेको निष्कर्ष निकालेको जनाएको छ । सोही आधारमा उहाँमाथि थप कारबाही आवश्यक नरहेको ठहर गर्दै लगाइएको आरोपबाट सफाइ दिइएको समितिको निर्णयमा उल्लेख छ ।

Leave a Reply