वीरगन्ज,नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याज दरका विरुद्ध वीरगन्ज उद्योग वाणिज्य सङ्घ आन्दोलनमा उत्रिएका छन । नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको भन्दै सङ्घको नेतृत्वमा उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।आन्दोलनको मंगलवार तेश्रो दिन व्यवसायिक प्रतिष्ठान अगाडि चालु पूँजी कर्जा निर्देशिकाको बिरोधमा ब्यानरहरु झुण्ड्याउनुका साथै हातमा कालो पट्टी बाँधी बिरोध जनाएको र बुधवार चौथो दिन १३ गते नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिने कार्यक्रम रहेको सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले बताउनुभयो ।राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धा तथा विभिन्न नीतिगत जटिलताका विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आएको अध्यक्ष गुप्ताले बताउनुभयो ।बिरोध कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, नागरिक समाजका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।यसअघि सङ्घले पहिलो दिन चर्को ब्याज दर र चालु पूँजी कर्जाको साङ्केतिक बिरोध स्वरुप वीरगन्ज उद्योग बाणिज्य सङ्घको कार्यालय र नेपाल राष्ट्र बैंकको मुख्यद्वार अगाडि विभिन्न नाराहरु लेखिएको ब्यानरहरु झुण्डयाइएको थियो ।वीरगन्ज उद्योग वाणिज्य सङ्घबाट निस्केको ¥यालीले वीरगन्ज नगरको परिक्रमा गर्दै स्थानीय पर्सेलीहरुलाई विरोध ब्यानर वितरण, कालो पट्टी बाँध्न अनुरोध गर्दै घण्टाघरमा पुगेर सम्पन्न भएको थियो ।घण्टाघरमा कोणसभालाई सम्बोधन गर्दै सङ्घका अध्यक्ष डा. गुप्ताले मुलुक आर्थिक रुपले सङ्कट तर्फ उन्मुख भइरहेकोतर्फ सङ्केत गर्दै शीघ्र चर्को ब्याज दर र चालु पूँजी कर्जाको अव्यवहारिक र निजीक्षेत्र अमैत्री प्रावधान हटाउन जोडदार माग गनुएभएको थियो ।त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री पौडेललाई भेटेर चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा अर्थमन्त्री पौडेललाई ब्रिफिङ गरेको महासंघले जनाएको छ । अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेश गर्नुभएको छ ।अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पूँजी कर्जा मार्गदर्शन रहेको बताउनुभयो । उहाँले यसलाई कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिएको समेत महासंघले जनाएको छ । मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाको भनाइ छ ।अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरेको समेत महासंघले जनाएको छ ।महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताउनुभयो । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको समेत उहाँले बताउनुभएको थियो ।नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति सरकार गम्भीर रहेको बताउनुभयो । सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उहाँको भनाइ छ । निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ भन्दै उहाँले मनोबल उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थिति थियो ।

Leave a Reply