वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न चोरी र लुटपाटको सामान सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले सुनको सिक्री लुट्ने दुईजना र ल्यापटप र मोबाईल चोरी गर्ने एकजना गरी तीनजनालाई मंगलबार पक्राउ गरेको हो । सुनको सिक्री लुट्ने वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ बस्ने वर्ष १९ का निरज नट र सोही ठेगानामा बस्ने बर्ष १९ को युवराज रायलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बीरगन्ज महानगरपालिका वडा नम्बर ११, श्रीपुर बस्ने ४५ वर्षीया सकुन्तला मेहता तरकारी बजारमा तरकारी किन्दै गर्दा उनको घाँटीमा लगाएको सुनको सिक्री लुटेर भागेका थिए । तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएकोले निजहरूलाई चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको तथा समूहमा रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १९ को मुन्ना कुमार रामलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप र मोबाइल लगायतका धनमाल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रकाश रौनियारले घरमा चोरी भएको उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गर्दै जाँदा शंका लागेर मुन्ना रामको घरको तलासी लिँदा चोरी भएको डेल कम्पनीको ल्यापटप १ थान र भिभो कम्पनीको मोबाइल फोन १ थान उनको कोठाबाट बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सामान सहित मुन्ना कुमारलाई पनि चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply