वीरगन्ज,प्रदेश २ मा पछिल्लो समय बलात्कारका घटना बढेको पाईएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईंका अनुसार प्रदेश २ का पर्सा बारा सहितका आठ वटै जिल्लामा बलात्कारको घटना बढेको हो । प्रदेश– २ को प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ देखि हालसम्मको अवधिमा प्रदेश २ मा ९ सय २८ महिला तथा बालिका बलात्कृत भएका छन् ।

यस्तै उक्त अवधीमा ३ सय ६३ महिला तथा बालिका माथि बलात्कारको प्रयास भएको छ । त्यही अवधिमा ६३ जना महिला ‘बोक्सी’को आरोपमा प्रताडित भएका छन् । प्रहरी उपरिक्षक प्रसाईंका अनुसार ४१ महिनाको अवधिमा सबैभन्दा बढी सिराहामा १ सय ५१, धनुषामा १ सय ५०, सप्तरीमा १ सय ३७, सर्लाहीमा १ सय ३, बारामा १ सय २, पर्सामा १ सय १ , रौतहटमा ९० र महोत्तरीमा ८४ ,महिला तथा बालिका बलात्कृत भएका हुन् ।प्रदेश २ मा बलात्कारका घटना बढेसँगै प्रहरीले कारबाही पनि तीव्र पारेको प्रवक्ता प्रसाईंले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ३ सय ९५ बलात्कारको घटना मध्ये ३ सय १४ जनालाई पक्राउ गरिएको छ । त्यस्तै घटनामा संलग्न १ सय ४१ जनालाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उहाँले बताउनुभयो ।

अपराध विरुद्ध आवाज उठाउनुपर्छ भन्ने जनचेतनामा आएको वृद्धि, लकडाउन, लागुऔषध तथा मदिरा सेवनलगायतका कुलतले गर्दा चालु आर्थिक वर्षमा विगतको तुलनामा बलात्कारका घटना बढेको देखिएको उहाँले बताउनुभयो । ‘लकडाउन अवधिले निम्त्याएको बेरोजगारी र घरमा खाली बस्दा आपसी रिसइबीले गर्दा पनि यो वर्ष बलात्कारको घटना व्यापाक रूपमा बढेको बताउँदै उहाँले अधिंकाश बलात्कारका घटनामा लागुऔषध र मदिरा लगायतले सपोर्टिङ भूमिका निर्वाह गरेको अनुसन्धानका क्रममा देखिएको बताउनुभयो । प्रहरी उपरिक्षक प्रसाइले अधिकांश बालात्कारका घटनामा महिला तथा बालबालिका आफ्नो नातेदार र चिनजानका व्यक्ति तथा आपसी विवादकै कारण बलात्कृत भएको प्रहरीको अनुसन्धानबाट देखिएको बताउनुभयो । वीरगन्जका अधिवक्ता विरेन्द्र यादवले राजनीतिकर्मी र समाजका अगुवाहरूले बलात्कार जस्तो पाशविक अपराधलाई गाउँमै मिलाउने प्रपञ्च गर्दा यस्ता घटना बढेको बताउनुभयो । बलात्कारी पक्राउ परे पनि केही दिन वा महिनामा छुटेर समाजमा फर्कने अवस्थाले पनि अपराध बढ्दै गएको उहाको विश्लेषण छ । यस्ता घटनामा संलग्नलाई कम्तीमा आजीवन कैदको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । बलात्कार जस्ता जघन्य अपराध बढेको तथ्यांकले देखाईरहँदा प्रदेश २ मा प्रदेश सरकारले चलाइरहेको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान नारामै सीमित भएको देखीएको छ । मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यले ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ घोषणा गर्दा त्यसको प्रशंसा समेत भएपनि पछिल्लो समय त्यो अभियान नारामा मात्र सीमित बन्दै गएको गुनासो बढ्न थालेको छ । एकातिर प्रदेश सरकारले महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्य सहित बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गरिरहेको छ भने अर्कातिर प्रदेशमा दिनहुँजसो बलात्कार लगायतका महिला हिंसाका घटना भइ नै रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here