बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका– १ सिंगौलस्थित वनसथली हाट बजार हुँदै रौतहट जिल्लासँग जोडिने धनसार खोलाको भालुघाटमा निर्माणाधीन झोलोङ्गे पुल निर्माण सम्पन्न नहुँदा स्थानीयले समस्या बेहोर्नुपरेको छ ।दुई वर्षभित्रमै निर्माण सम्पन्न गर्ने गरी २०७९ सालमा निर्माण कार्य शुरु भएको उक्त पुल लामो समयदेखि अधुरो हुँदा स्थानीयलाई आवतजावतमा समस्या परेको हो । पुलको ७० प्रतिशत निर्माण पूरा भएपछि निर्माण कार्य रोकिदैआएको हो ।
उपभोक्ता समितिले गर्नुपर्ने काम सम्पन्न भइसकेको र बाँकी रहेका सामग्री उपलब्ध गराउने प्रक्रिया ढिलाइ भएकै कारण निर्माण कार्य अलपत्र परेको हो । विशेषगरी पुल निर्माणका लागि आवश्यक स्टील सामग्री—टावर, जाली तथा प्लेट खरिदका लागि नगरपालिकाले समयमै टेन्डर प्रक्रिया अगाडि नबढाउँदा पुल निर्माण रोकिएको स्थानीयले बताएका छन ।
पुल अधुरो रहँदा सिंगौल– १ मा रहेको हाट बजारसमेत प्रभावित भएको छ । नगरपालिकाले झोलोङ्गे पुलको लागि ६० देखि ६२ लाख रुपैयाँ बराबरको स्टील सामग्रीको व्यवस्था गर्ने दातृ संस्था हेल्भेटाससँग मिलेर दुई वर्षमै काम सम्पन्न गर्ने सम्झौता २०७९ सालमै गरेको थियो । तर हालसम्म पुल निर्माण सम्पन्न हुन सकेको छैन ।
सो स्थानमा पक्की पुल नहुनुका कारण विशेष गरी बर्खायाममा सिंगौल र छिमेकी जिल्ला रौतहटका बासिन्दाहरूले आवतजावतमा ठूलो कठिनाइ बेहोर्दैआएका छन ।खासगरी रौतहट जिल्लाको अरुणवस्ती, पुरानो नर्सरी र इपिल बस्तीका विद्यार्थीहरू नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, सिंगौलमा अध्ययन गर्न आउँदा असुविधा हुने गरेको छ । सो विद्यालयका करिब ८० प्रतिशत विद्यार्थी ती बस्तीहरूबाटै अध्ययन गर्न आउने गरेका छन् ।
यहाँका विपन्न, गरिब, असहाय परिवारका बालबालिका मात्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् ।धनसार खोलामा बर्खा लागेपछि बाढी आउँदा विद्यार्थीहरूले विद्यालय आउन–जानै नसकी हप्तौँसम्म हाजिरी छुटाउने गरेको पीडादायी अवस्था रहेको छ ।

















