संघीय सदन आह्वानका लागि अहिले तयारी भइरहेको छ भने चुनाव सम्पन्न भएपछि प्रदेशको पनि अधिवेशन आह्वानको तयारी भइरहेको छ । संघीय सदन पुरानो भएपनि प्रदेश सदन भने यो दोश्रो पटक बस्न लागेको हो । पाँच बर्ष अगाडि प्रदेश संरचना तयार भएपछि नेपालमा सातवटा प्रदेश बनाइयो र यसैका आधारमा मुख्यमन्त्री सहित मन्त्री र मंन्त्रालयहरु खडा गरिए र यसको व्यापक दुरुपउयोग भएको देखिन्छ ।
प्रदेश राजनीतिको गज्जबको भूमरीमा यो पाँच वर्ष रह्यो । त्यसैले पनि प्रदेश खारेजीको माग बढी उठेको छ । केही राजनीतिक दलहरुले प्रदेश खारेजीको मुद्दा लिएर चुनावमा गएको पनि देखियो र धेरथोर मत ल्याएको पनि देखियो । अब पाँच वर्षपछि हुने चुनावमा भने संघीयताको बिरोध गर्ने दलले नै बढी मत ल्याउने देखिन्छ ।
अब बहस संघीयता खारेजी कि बलियो बनाउने भन्ने कुरा चैं हुन आवश्यक छ । संघीयता अहिलेको अवस्थामा बलियो हुन सक्दैन । यो त राजनीतिक दलहरुले आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाउने स्थानको रुपमा देखिएको छ । त्यसैले पनि अब यही मोडेलमा संघीयता बचाउनुको अर्थ छैन । यसलाई पूर्ण स्वायत्त नबनाएसम्म संघीयता नेपाल र नेपालीको लागि गलपासो हुने निश्चित छ ।
















