वीरगन्ज,विगत दुई दिनदेखि परिरहेको अविरल वर्षा शनिबारसम्म कायम रहने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाबासीसंग आग्रह गरेको छ । मौसमविद्हरुले अहिले भइरहेको वर्षा शनिवारसम्म कायम रहने बताएकाले विशेष गरि खोला र नदीहरुको आसपासमा बाढी पसेर डुबान र कटानको जोखीम हुने भएकाले सतर्कता अपनाउन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जिल्लाबासीसंग आग्रह गर्नुभएको हो । प्रदेश २ सहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा अस्ति मंगलवार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । लगातारको वर्षासँगै नदी र खोलाहरुमा बाढीको जोखिम बढेको छ । निरन्तरको वर्षाका कारण पर्सा जिल्लामा पनि अधिकांश गाउँहरु जलमग्न भएका छन् । वर्षाको पानीको निकास नहुदा सयौं घरहरु डुबानमा परेका छन् भने नदी र खोलाहरुमा आएको बाढी गाँउमा पस्दा जनजीवन नै प्रभावित बनेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाका धेरै ठाँउमा बाढी र डुबानको समस्या देखिएको भन्दै बर्षा अझ ३ दिन कायम रहने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि काम भइरहेको बताउदै पौडेलले प्रभावित क्षेत्रमा ध्यान दिन पालिकाका जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो । बाढी र डुबान क्षेत्रमा आधा घण्टामै उद्धारका लागि पुग्ने गरि रेपिड रेस्पोन्स टिम पोखरीयामा राख्ने तयारी भइरहेको भन्दै उहाँले कहि कतै बाढी वा डुबानको समस्या भए हाल नजिकैको सुरक्षाकर्मी वा पालिकामा खबर गर्न पनि आग्रह गर्नुभयो ।

यसैबीच तीन दिनदेखि परिरहेको पानी र हावाहुरीले बाराको सिम्रौनगढ ईलाका लगायत आसपासका क्षेत्रहरुमा लगाइएको चैते धान बालीमा क्षति पुर्याएको छ । सिम्रौनगढ, बन्कुल, पचरौता, बेलदारी, आदर्श कोतवाल, कोल्हबी, बरियारपुर लगायतका क्षेत्रहरुमा लगाइएको चैते धानबालीलाई बर्षाले क्षति गरेको स्थानीयहरुले बताएका छन् । पाकिसकेको धान थन्काउन नपाएर बर्षाले समस्या गरेको सिम्रौनगढ क्षेत्रका कृषकहरुले बताएका छन् ।

यसैबीच सर्लाहीको सदरमुकाम मलंगवामा अबिरल बर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् । मलंगवा–६ मा टायलले छाएको दुईतले कच्ची घर छानो सहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई बर्षीया बालिका अर्चना रहेको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । घाइतेहरूको स्थानीयस्तरमै उपचार भइरहेको छ । घर भत्किएपछि विस्थापित परिवारहरु आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here