वीरगन्ज,बारामा पछिल्लो समय काठ तस्करी बढेको तथ्यांकले नै देखाएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा काठ तस्करी सम्बन्धी ३२ वटा मुद्दा दायर भएको थियो ।जस मध्ये २२ वटा मुद्धा डिभिजन वन कार्यालय बारा र १० वटा मुद्धा बारा जिल्ला अदालतमा परेको थियो । तथ्यांकअनुसार बारामा गत आर्थिक वर्षमा १ हजार २ सय ८२ घनफिट काठ चोरी तस्करी भएको थियो । चालु आर्थिक वर्षको फागुन तेश्रो साता सम्म १ हजार ९ सय ८३ घनफिट काठ चोरी तस्करी भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
कार्यालयका प्रमुख मन्जुर अहमदले विगतको वर्षभन्दा अहिले काठ चोरी तस्करी बढेको बताउनुभयो । उहाका अनुसार लकडाउनमा मान्छेहरू वन माथि आश्रीत भएको कारणले काठको चोरी तस्करी बढेको हो । सरकारले काठ खरिद बिक्री बन्द गरेका कारणले पनि वनमा काठको चोरी बढेको उहाको भनाइ छ । बाराको निजगढ, भरतगन्ज, सिगौल, अमरेखगन्ज, नयां बस्ती मधुवन, बोधवन लगायतका वन क्षेत्रमा बढी काठ तस्करी भएको हो । खुल्ला सिमानाका कारण २४ सै घण्टा सशस्त्र वन रक्षक र वन कर्मचारीको गस्ती रहे पनि नियन्त्रण गर्न नसकिएको वन कर्मचारीहरूको भनाइ छ । डिभिजन वन कार्यालय बाराका प्रमुख अहमदले काठ तस्करी रोक्नको लागि विस्तृत योजना नै निर्माण गरी अघि बढाइएको जानकारी दिनुभयो । उहाले वनबाट हुने काठको तस्करीका रोक्नुको साथै वन क्षेत्रको संरक्षण समेत यो योजनाको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
वन क्षेत्रभित्र भएको घना वस्ती र चौतर्फी रूपमा खोलिएका बाटोघाटोका कारण निमार्णधीन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा पछिल्लो समय सबै भन्दा बढी काठको तस्करी हुने गरेको छ । यता स्थानीयवासीले वन तस्करी रोक्नको लागि वन कार्यालयले खुला सीमालाई जिम्मेवार बताउने गरेपनि वन कर्मचारीहरूको मिलोमतोमा नै तस्करी हुने गरेको आरोप लगाएका छन । तर कर्मचारीहरूले आफूहरूमाथि लगाईएको आरोप गलत भएको बताएका छन् । बारा जिल्लामा ४७ हजार एक सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जस मध्ये ४१ वटा सामुदायिक वन, ४ वटा साझेदारी वन तथा पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन् ।