सिमरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको आर्थिक तथा पर्यटन विकासका लागि महत्वपूर्ण आयोजना भएकाले यसको निर्माण अनिवार्य रहेको बताएका छन्।

बाराको सिमरामा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजगढ विमानस्थललाई देशकै ‘लाइफलाइन’ को संज्ञा दिँदै प्रभावित स्थानीयलाई अन्याय नहुने गरी उचित पुनःस्थापना गरेर निर्माण प्रक्रिया अघि बढाइने बताए।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेको क्षमताभन्दा थप हवाई चाप थेग्न सक्ने अवस्था छैन। पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका पनि आफ्नै सीमितता रहेकाले निजगढ विमानस्थलको विकल्प नरहेको उनको भनाइ छ।

सरकारले अघि सारेको पर्यटन विकासको योजनामा निजगढ विमानस्थल महत्वपूर्ण केन्द्रका रूपमा रहने उल्लेख गर्दै उनले यसको निर्माणका लागि आफूले पनि आवश्यक पैरवी गर्ने प्रतिबद्धता जनाए।

मन्त्री पौडेलले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने दाबीसमेत गरे। द्रुतमार्ग सञ्चालनमा आएपछि मधेस क्षेत्रमा मानिसहरूको आवागमन उल्लेख्य रूपमा बढ्ने उनको भनाइ थियो।

बढ्दो आवागमनलाई ध्यानमा राखेर पर्यटन तथा होटल व्यवसायीलाई अहिले नै तयारी गर्न आग्रह गर्दै उनले ढुक्क भएर लगानी गर्न आह्वान गरे।

‘द्रुतमार्ग बनेपछि बढ्ने मानिसको आवागमन थेग्न तयार रहनुहोला,’ उनले भने, ‘त्यसैले पर्यटन व्यवसायीले दह्रो मुटु बनाएर ढुक्कले लगानी गर्नुस्।’

यसैक्रममा मन्त्री पौडेलले सिमरा पार्कको समेत अवलोकन गरेका छन्। पार्कको अवलोकनपछि उनले यसलाई ‘बटरफ्लाई गार्डेन’ अर्थात् पुतली उद्यान तथा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखे।

Leave a Reply