निजगढ, १३ साउन– कोरोना भाइरस (कोभिड(१९) बाट सोमबार बाराका एक गरी थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बारा, पर्सा र धनुषाका १÷१ जना गरी तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्कघात र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ ।
उनको साउन १० गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका विरामी थिए । यस्तै, धनुषा सहिदनगर ८ का ३६ वर्षीय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । साउन १० गते ज्वरो र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए ।
आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
यसबैच, सोमबार निजगढमा थप एक जनामा सोमबार कोरोना पुष्टि भएको छ । निजगढमा नगरपालिका वडा नम्बर– ४ पुरानोटोल घर भएका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा संयोजक रमेश लामाले जानकारी दिनुभयो । भारतको बङलोरेबाट गत साउन ८ गते निजगढ आएका उनलाई वडा नम्बर– ९ मा रहेको गौरीशंकर क्याम्पसको क्वारेनटाईनमा राखिएको थियो ।
उनको साउन ११ गते गरिएको पीसीआर परीक्षणका लागि स्वाब सन्कलन गरिएको थियो । हेटौडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उपचारका लागि मंगलबार बिहान कलैयामा रहेको आईसोलेसनमा लगिने स्वास्थ्य संयोजक लामाले बताउनुभयो । यो संगै निजगढमा कोरोना संक्रमणको संख्या ४ पुगेको छ भने एक बालकको मृत्यु भएको छ ।
त्यसैगरी जितपुरसिमरा उपमहानगरपालिकामा पनि सोमबार नै थप तीन जनामा कोभिड– १९, कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित क्वारेन्टाईनमा रहेका १७ जना, होम क्वार्रेन्टाईनमा रहेका ७ जना र कन्ट्याक ट्रेसिङ्गका ४३ जना गरी ६७ जनाको शनिवार स्वाव संकलन गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको हो । ६७ जनाको स्वाब संङ्कलन गरी पि.सि.आर परीक्षणकोलागि हेटौंडा पठाइएकोमा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरूमा उपमहानगरपालिकाको वडा नं. १२ घर भएका वर्ष २६ का युवक रहेका छन् । साउदीमा बैदेशिक रोजगारीबाट हालैमात्र उही घर फर्किएका हुन ।
त्यस्तै, जिपुरसिमरा कै वर्ष २६ का एक जना युवक र संक्रमितको सम्पर्कमा आएका जितपुर स्वास्थ्य चौकीका २२ वर्षका एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरु तीनै जनालाई कोरोना अस्पताल गण्डकमा लैजाने बताइएको छ ।