काठमाण्डौं,नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान कार्यक्रम अन्तर्गत नेताहरूलाई विभिन्न प्रदेश र जिल्लाको जिम्मेवारी दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माघ १६ गतेदेखि सुरु हुने उक्त अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिइसकेको कांग्रेसले जनाएको छ । अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न नेताहरूलाई खटाएको कांग्रेसले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

यसैक्रममा महालक्ष्मी उपाध्याय ‘डिना’ ले बारासहित पर्सा, रौतहट र सर्लाही तथा बागमतीको धादिङ र चितवनको नेतृत्व गर्नेहुनुभएको छ । समुदायमा कांग्रेस अभियान अन्तर्गत बारामा माघ १९ मा कार्यक्रम हुनेछ । ४ वटै निर्वाचन क्षेत्रमा हुने कार्यक्रम अनुसार बारा क्षेत्र नम्बर १ को आदर्श कतवालको अनर्वा चोकमा पर्यावरण र श्रम संवाद हुनेछ ।
त्यसैगरि बारा क्षेत्र नम्बर २ को पचरौता– ८ मा युवा संवाद हुनेछ भने महागढीमाई नगरपालिका २ मा गढीमाई मन्दिर दर्शन कार्यक्रम रहेको छ । त्यसैगरी बारा क्षेत्र नम्बर ३ को कलैयामा कृषि संवाद हुनेछ । बारा क्षेत्र नम्बर ४ को परवानीपुस्थित गण्डक चोकमा चिया संवाद हुने बताइएको छ ।
















