वीरगञ्ज,संघीय सरकारले दिने बजेटमा वीरगञ्ज सँधै विभेदमा पर्ने गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभएको छ ।संघीय सरकारले देशकै आर्थिक एवम् औद्योगिक नगरीलाई उपेक्षा गरेको प्रमुख सिंहको भनाई छ । सार्वजनिक लेखा समितिको संसदीय टोलीलाई आफ्नै कार्यकक्षमा स्वागत गर्दै उहाँले वीरगञ्जलाई संघीय सरकारले सँधै सौतेलो व्यवहार गरेको गुनासो गर्नुभयो ।
काठमाण्डौ, पोखरा, भरतपुर लगायतका महानगरपालिकाभन्दा कम बजेट वीरगञ्जले पाउनु न्यायोचित नहुने सिंहको भनाई छ । उहाँले बजेटमा गरिने विभेदको अन्त्य गरेर न्यायोचित ढंगले बजेट बिनियोजन गर्न उहाँले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराउनुभएको छ । सिंहले भन्नुभयो, ‘भरतपुर महानगरमा ३९० करोड र वीरगञ्ज महानगरपालिकालाई ११५ करोड बजेट बिनियोजन हुनु दुखद विषय हो । यसमा बिचार गरियोस् ।’ उहाँले वीरगञ्जले राज्यको राजस्वमा दिने योगदानको कदर गर्दै बजेट पनि सोही अनुसार बिनियोजन गर्न आग्रह गर्नुभएको थियो ।प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले वीरगञ्जमाथि बजेटमा भइरहेको विभेद बारे सार्वजनिक लेखा समितिले संसदमा छलफल गर्ने तथा सरकारलाई लिखित निर्देशन दिने आश्वासन दिनुभएको छ । सांसद यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न वीरगञ्ज आएको सार्वजनिक लेखा समितिको संसदीय टोलीले स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया पनि गरेको थियो ।
















