वीरगन्ज,शीतलहर बढेसंगै बारा र पर्साको ग्रामीण भेगका स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ ।बाक्लो हुस्सुसगैँ चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । चिसो बढेसगैँ बाटोमा गुड्ने सवारीसाधनको सङख्यामा समेत कमी आएको छ । सोमवार बिहानबाट मौसम एक्कासी बिग्रिएर यस क्षेत्रमा चिसो बढेको हो । चिसो बढेसंगै कलैया उपमहानगरपालिकाले मंगलवारबाट ४ दिनको लागि विद्यालय बन्द गराएको छ ।त्यसैगरी बाक्लो हुस्सुका कारण मंगलवार सिमरा विमानस्थलको सबै उडान प्रभावित बनेको छ । बिहानैदेखि लागेको हुस्सु दिनभर नहटेपछी उडान प्रभावित बनेको हो । मौसम सफा नहुँदा ९ वडा उडान स्थगित भएका छन् । सिमराबाट काठमाडौं जाने बुद्ध एयरको सात र यति एयरलाईन्सको दुई वटा उडान स्थगित भएको हो ।उडानका लागि दुई हजार चार सय भन्दा बढी भिजिबिलिटी हुनुपर्ने भएपनि हुस्सुका कारण एक हजार भन्दा कम भिजिबिलिटी रहेको विमानस्थलले जनाएको छ ।खराब मौसमका कारण यसअघि पुस १३ गते पनि विमानस्थलको सबै उडान प्रभावित बनेको थियो ।तयसैगरी पर्साको जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाँउपालिका र पोखरिया नगरपालिकाले सामुदायिक विद्यालयमा शनिवारसम्म जाडो विदा दिएका छन् । चिसोको कारण विशेष बालबालिका, विपन्न, असहाय तथा दलित समुदायका मानिसहरुलाई निकैै कठिनाई हुने गरेको जिराभवानी गाउँपालिका–२ का माथुर माझी मुसहरले जानकारी दिनुभयो ।विगतको समयमा पालिकाले आगो ताप्न दाउरा वितरण गर्ने गरेपनि यसपटक भने केहि वास्ता नगरेकोे स्थानीयको गुनासो छ । उता पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले विपद व्यवस्थापन समिति पर्साको बैठकमा दाउरा वितरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । निर्णय भएको भोलिपल्ट नै दाउराको राजश्व डिभिजन वन कार्यालयको खातामा दाखिला गरेपनि हालसम्म उपलब्ध भने नभएको चौधरीले बताउनुभयो ।उता, जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले डिभिजन वन कार्यालयले पालिकालाई काखापाखा गरेको आरोप लगाउनुभयो ।दैनिक एक जना कर्मचारी डिभिजन वन कार्यालयमा धाईरहदाँ समेत दाउरा उपलब्ध नभएकोे उहाँको गुनासो छ । डिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले कार्यालय प्रमुख बिदामा रहेकाले दाउरा उपलब्ध गराउन नसकेको बताउनुभयो । कार्यालय प्रमुखको उपस्थिति हुने बित्तिकै सो काम गरिने मियाँको दावी छ ।

Leave a Reply