गएको हप्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभयो । सपथ लिनेक्रममा उहाँले प्रस्तुत गर्नुभएको एक शैलीले उहाँले गरेको ठट्ठालाई उजागर गरिदिएको छ । शपथ लिएको दृश्य हेर्ने र आवाज सुन्ने हो भने त्यो राष्ट्रको वरीयता क्रममा रहेका पहिलो र तेस्रो व्यक्तिबाट भएको कार्य केटाकेटी खेले जस्तो देखिन्छ । शपथ ग्रहण ठट्टाको विषय हुन सक्तैन । शपथ लिने कार्य परापूर्वकालदेखि नै चलिआएको छ । नेपालमा मात्र नभई विश्वका प्रायः सबै देशमा कुनै महत्वपूर्ण पदको कार्यभार सम्हाल्नुअघि शपथ लिने गरिन्छ ।

हेर्दा लाग्न सक्छ, शपथ केही पनि होइन, यसमा भनेको कुराले सम्बन्धित पक्षलाई बाँध्न सक्दैन । तर, त्यसो होइन । शपथ अनिवार्य छ । व्यवहारतः शपथमा बोलिएको वचन पूरा गरेन भने त्यसलाई लिएर कानुनले शपथ लिने पदाधिकारीलाई कारबाही गर्ने प्रावधान छैन । तर पनि कुनै कार्य प्रारम्भ गर्नुअघि बोलेको कुराले उसलाई सधैं झस्काइरहन्छ भन्ने विश्वास गरिन्छ । केही वर्षअघि मात्र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पदको शपथ लिने क्रममा एउटा शब्द गल्ती भएपछि उहाँले भोलिपल्ट पुनः शपथ लिनुभएको थियो । यसबाट उहाँप्रति अमेरिकी जनता मात्र होइन, विश्वकै व्यक्तिहरुले उहाँप्रति श्रद्धा व्यक्त गरेका थिए । यसबाट पनि शपथलाई मजाकका रूपमा लिनुहुँदैन, यो अत्यन्त गम्भीर विषय हो भन्ने बुझिन्छ ।

तर, म नै सर्वेसर्वा हुँ, मैले जे गरे पनि हुन्छ, जनता त म भन्दा धेरै तलका व्यक्ति हुन् भन्ने सोचाइ राख्ने प्रवृत्ति बोकेका व्यक्तिका लागि यो गम्भीर विषय हुँदैन । शपथ लिँदा एउटा शब्द छुट््यो भने वा बोल्दा गल्ती भयो भने त्यसले सच्चा राष्ट्रसेवकको आत्मालाई सन्तुष्टि दिँदैन । त्यसै भएर पनि अमेरिकी राष्ट्रपति ओबामाले जनतासँग माफी माग्दै पुनः शपथ लिएको उदाहरण हाम्रा सामु छ । यसै गरी, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झालाई पनि सर्वोच्च अदालतले पुनः शपथ लिन लगाएको दृष्टान्त हाम्रै सामु छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here