काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गराउनुपर्ने प्रस्ताव गरेका छन्। पटक–पटक निर्वाचन गराउँदा राज्यको खर्च बढ्ने भए प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक मंसिरमा गर्न सकिने उनको भनाइ छ।
विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आज भएको भेटघाटमा ओलीले पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताए। लोकतान्त्रिक व्यवस्थामा संविधान र कानुनभन्दा बाहिर गएर कसैले पनि निर्णय गर्न नपाउने उनको धारणा थियो।
प्रदेशसभा निर्वाचनलाई मध्यावधि निर्वाचनका रूपमा लिन नमिल्ने उल्लेख गर्दै उनले निर्धारित प्रक्रिया र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुनुपर्ने बताए।
निर्वाचनमा हुने खर्चलाई कारण देखाएर जनप्रतिनिधिको कार्यकाल छोट्याउन नमिल्ने उनको तर्क छ। उनले २०८४ मा हुनुपर्ने निर्वाचन त्यसअघि नै गराइएको प्रसंग उठाउँदै निर्वाचन खर्चकै चिन्ता हुने हो भने तत्कालीन सरकारलाई पनि २०८४ सम्म निरन्तरता दिन सकिने अवस्था रहेको टिप्पणी गरे।
ओलीले भने, ‘चुनाव गराउँदा खर्च हुन्छ भनेर हुन्छरु देश कसैको हुकुमबाट चल्दैन। वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनुपर्छ।’
उनले निर्वाचन खर्च कम गर्ने उद्देश्यले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक मंसिरमा गराउन सकिने विकल्पसमेत अघि सारे।
‘पटक–पटक चुनाव गराउँदा खर्च हुन्छ भने प्रदेश र संघको चुनाव एकैपटक मंसिरमा गरौँ न। एकैपटक गराउँदा पाँच वर्षका लागि भइहाल्थ्यो। पहिले पनि गरेकै थियो, अब पनि खर्च जोगाउन प्रदेश र संघको एकैपटक गरौँ,’ ओलीले भने।
आफूहरूलाई भने पूरा कार्यकाल काम गर्नुपर्ने र अरूका हकमा फरक मापदण्ड अपनाउन नहुने उनको भनाइ थियो।















