काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग सम्बोधन गराउन नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
पहिलो चरणको आन्दोलनलाई सरकारले बेवास्ता गरेको निष्कर्ष निकाल्दै महासंघले थप दबाब सिर्जना गर्न तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आफ्ना मागप्रति प्रतिबद्ध गराउन आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको हो।
महासंघले मंसिर १३ देखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा दैनिक एक घण्टा धर्ना दिने निर्णय गरेको छ। धर्ना कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।
घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यालयबाट धर्ना सुरु गरिनेछ। उक्त दिन ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता स् रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित प्रदर्शन गरिने महासंघले जनाएको छ।
त्यसैगरी, मंसिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को कार्यालयमा धर्ना दिइनेछ।
यी दलका कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता स् विपक्षी दल किन मौन रु’ भन्ने नारासहित विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ।
यसैगरी, मंसिर २० गते कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर काठमाडौंको माइतीघरमा तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको र सञ्चारमाध्यममा अवरोध गर्नेलाई कारबाही नगरिएको भन्दै सरकारको विरोध गर्दै आएको छ।
त्यस्तै, सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, पत्रकारको श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारण बनाएको छ।
महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित रूपमा ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्धता व्यक्त गरे उक्त दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ।
दोस्रो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणका थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ।
















