जनकपुर । मधेस सरकारले चालु आर्थिक वर्षको बजेट ७१ प्रतिशतभन्दा बढी खर्च गरेको छ । असार २५ गते राति १२ बजेसम्म चालु आर्थिक वर्षको बजेट खर्च गर्ने अख्तियारी रहेकोमा मधेस सरकारले कुल ७१.४८ प्रतिशत बजेट खर्च गरेको हो ।प्रदेशको अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले यो वर्ष पुँजीगत र चालुतर्फ गरी कुल ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका सचिव राम महतोका अनुसार पुँजीगततर्फ २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार रुपैयाँ र चालुतर्फ ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार रुपैयाँ खर्च भएको छ ।प्रदेशले चालु आर्थिक वर्ष पुँजीगत खर्च पनि बढाएको छ । आर्थिक वर्ष ०८०/०८१ मा ५९.७८ प्रतिशत पुँजीगत बजेट खर्च भएकोमा चालु आर्थिक वर्ष ७५.१४ प्रतिशत खर्च भएको हो ।















