वीरगंज, १० मंसिर । वीरगंज महानगरपालिकाले नगरभित्रका लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित बनाउँदै स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनी व्यवस्था लागू गरेको छ।

महानगरपालिकाले ‘उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी ऐन, २०८३’ जारी गर्दै त्यसको कार्यान्वयनका लागि नियमावलीसमेत ल्याएको हो। नयाँ व्यवस्थाले उद्योग दर्तादेखि नवीकरण, अनुगमन, खारेजी र प्रवर्द्धनसम्मका प्रक्रियालाई कानुनी दायरामा समेटेको छ।

वीरगंजलाई आर्थिक नगरीका रूपमा चिनाउँदै आएका नगरप्रमुख राजेशमान सिंहले ठूला उद्योग तथा कलकारखानासँगै घरेलु र साना उद्योगको संख्या पनि उल्लेख्य रहेकाले तिनलाई व्यवस्थित गर्न नयाँ ऐन आवश्यक भएको बताए।

उनका अनुसार उद्योगलाई नियमन गर्ने नाममा असहज बनाउने नभई उद्योगीलाई कानुनी सुरक्षा, सुविधा र प्रोत्साहन प्रदान गर्दै व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले ऐन ल्याइएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको नयाँ व्यवस्थाअनुसार महानगरभित्र सञ्चालन हुने स्थानीय उद्योग अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ। आवश्यक कागजातसहित निवेदन परेपछि प्रक्रिया पूरा भएको अवस्थामा १५ दिनभित्र उद्योग दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। यसअघि नै कानुनअनुसार दर्ता भएर सञ्चालनमा रहेका उद्योगले पनि ऐन लागू भएको छ महिनाभित्र महानगरमा आफ्नो अभिलेख अद्यावधिक गर्नुपर्नेछ।

कर छुटदेखि बीउ पुँजी अनुदानसम्मको व्यवस्था

नयाँ ऐनले उद्योग प्रवर्द्धनका लागि विभिन्न कर छुट र आर्थिक सहुलियतको व्यवस्था गरेको छ। सूचना प्रविधि, सफ्टवेयर विकास तथा डिजिटल सेवासम्बन्धी उद्योग तोकिएको क्षेत्रमा स्थापना भए पाँच वर्षसम्म ५० प्रतिशत व्यवसाय कर छुट दिन सकिने प्रावधान राखिएको छ।

त्यस्तै, महिलाको पूर्ण स्वामित्वमा रहेका तथा दलित, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका उद्योगलाई दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइने व्यवस्था छ। यस्ता उद्योगलाई व्यवसाय करमा तीन वर्षसम्म १५ प्रतिशत छुटसमेत उपलब्ध गराउन सकिनेछ। घरेलु तथा साना उद्योगलाई पनि व्यवसाय करमा सहुलियत दिने प्रावधान ऐनमा समेटिएको छ।

यसैगरी, सहकारी, लघु, घरेलु तथा साना उद्योगलाई तोकिएको मापदण्डका आधारमा बीउ पुँजी अनुदान उपलब्ध गराउन सकिनेछ। उद्योग स्थापनाका लागि जग्गा खरिद गर्न कठिनाइ भएमा महानगरले आवश्यक समन्वय र सहजीकरण गर्नेछ। राष्ट्रिय तथा स्थानीय प्राथमिकतामा परेका उद्योगलाई सरकारी जग्गा भाडामा उपलब्ध गराउने प्रक्रियामा समेत महानगरले सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

उद्योग प्रवर्द्धन समिति र एकद्वार सेवा केन्द्र स्थापना गरिने

उद्योगको विकास र लगानी विस्तारका लागि महानगर प्रमुखको अध्यक्षतामा स्थानीय उद्योग प्रवर्द्धन समिति गठन गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ। उद्योगीलाई आवश्यक सेवा एउटै स्थानबाट उपलब्ध गराउन एकद्वार सेवा केन्द्र स्थापना गरिनेछ।

त्यस्तै, उद्योग विकास, प्रविधि विस्तार, लगानी संरक्षण तथा रुग्ण उद्योगको पुनःस्थापनाका लागि विभिन्न कोष स्थापना गर्न सकिने प्रावधान राखिएको छ। सार्वजनिक–निजी साझेदारीमा औद्योगिक करिडोर, औद्योगिक ग्राम तथा औद्योगिक क्लस्टर घोषणा गरी उद्योगलाई थप सुविधा उपलब्ध गराउन सकिने व्यवस्था पनि ऐनमा छ।

वातावरणीय मापदण्ड पालना अनिवार्य

नयाँ ऐनले उद्योग दर्ता र सञ्चालनसँगै वातावरणीय जिम्मेवारीलाई पनि प्राथमिकता दिएको छ। प्रचलित कानुनअनुसार वातावरणीय अध्ययन आवश्यक पर्ने उद्योगले सम्बन्धित अध्ययन र स्वीकृति प्राप्त गरेपछि मात्रै स्थापना तथा सञ्चालन गर्नुपर्नेछ।

महानगरपालिकाले उद्योग दर्ताका क्रममा तोकिएका सर्त तथा कानुनी प्रावधान पालना भए–नभएको नियमित अनुगमन गर्नेछ।

नगरप्रमुख सिंहले नयाँ कानुनी व्यवस्थाले उद्योगीलाई सुरक्षित र व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उद्योगीलाई निरुत्साहित गर्नु नभई आवश्यक सुविधा, सहुलियत र सहजीकरणमार्फत वीरगन्जमा स्थानीय उद्योगको विकास, लगानी र रोजगारीका अवसर विस्तार गर्नु महानगरको उद्देश्य रहेको उनले बताए।

Leave a Reply