बारा,गुणस्तरहीन बिउका कारण काटने समय नै नपुगी उखु सुक्न थालेपछि बाराका किसान आन्दोलित भएका छन् । उनीहरुले शनिवार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा चक्काजाम गरेका हुन् ।
श्रीपुरघाट चोकको सडकमै सुकेको उखु जलाएर उनीहरुले प्रदर्शन गरेका थिए । दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध पारेर प्रदर्शन गरिएको उखु किसानले बताएका छन् ।
श्रीपुरीस्थत रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएका कारण आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ । उद्योग र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु चासो नदेखाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको किसानहरुको भनाइ छ । प्रदर्शनमा सहभागी किसान शशीकान्त यादवले कारखानाले भारत सरकारले प्रतिबन्ध लगाएको उखु दबाव दिएर किसानलाई रोप्न लगाउँदा नोक्सानी भएको गुनासो गर्नुभयो । ‘धेरै उत्पादन दिने भनेर ४÷५ वर्षअघिदेखि नै सिओजिरो–२३८ जातको उखु रोप्न कारखाना र उखु उत्पादक किसान संघले दवाव दिइरहेको थियो । हामीले बाध्य भएर त्यही लगायौं । पुरानो जात विस्थापित भयो ।’ उहाँले भन्नुभयो, ‘अहिले आएर त्यसमा रेडरड (रातो सडन) को समस्या देखिएपछि बेला नै नभइ सुक्न थालेको छ ।’ उहाँले किसानको लगानी डुब्ने अवस्था उत्पन्न भएको पनि बताउनुभाये ।
आफ्नो मात्रै ३ विघा खेतमा रोपेको उखुमा रेडरडको समस्या देखिएको बताउँदै उहाँले रिलायन्सले बीऊ दिएको क्षेत्रभरि नै यस्तो समस्या देखिएको बताउनुभयो । चिनी बढी उत्पादन हुने भएकाले रिलायन्स उद्योगले किसान संघसँग मिलेर किसानलाई डुबाएको आरोप उहाँको छ ।
प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बीऊ राम्रो नपरेकोले उखु सुकेको भन्दै किसानले क्षतिपूर्तिको माग राखेर केहिबेर सडक अवरुद्ध गरेको बताउनुभयो । किसानलाई सम्झाई बुझाई गरेर बाटो खुलाएको बताउँदै उनले समस्या समाधानका लागि आइतवार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखिएको समेत जानकारी दिएनुभयो ।

















