कलैया,नेपाल सरकारले तोकेको मामपदण्ड अनुसार मात्र खाना पकाउने एलपी ग्यासको कारोबार गर्न जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ ।बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आज एउटा सूचना जारी गर्दै जिल्लामा अवस्थित एलपी ग्यास उत्पादक, वितरक तथा डिलरहरूलाई यस्तो आग्रह गर्नुभएको हो ।
तोकिए बमोजिकको परिमाण, गुणस्तर तथा मापदण्ड अनुसार मात्र उपभोक्तालाई ग्यास उपलब्ध गराउन सो सूचनामा भनिएको छ । सूचनामा नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्यास सिलिण्डर बिक्री वितरण नगर्न÷नगराउन र ग्यास सिलिन्डरको भण्डारण तथा बिक्री वितरण गर्दा निर्धारित सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न प्रशासनको आग्रह छ ।

उपभोक्तालाई सुरक्षित तथा तोकिएको मापदण्ड अनुसारको ग्यास सिलिन्डर मात्र बिक्री वितरण गर्न भनिएको छ । एलपी ग्यासको अनावश्यक रूपमा बढी मौज्दात नराख्न र उपभोक्तालाई ग्यास वितरण प्रणाली पारदर्शी बनाउने तथा पालो प्रणालीमार्फत ग्यास सहज रूपमा उपलब्ध गराउन सूचनामा भनिएको छ । अनावश्यक संचिति नहुने गरी खाली सिलिण्डर प्राप्त भएपश्चात मात्र नयाँ सिलिण्डर दिन भनिएको छ ।

सबै डिलरहरूले उद्योगबाट खरिद गरिएको ग्यासको परिमाण, बिक्री तथा मौज्दातको विवरण व्यवस्थित रूपमा राखी सोको अभिलेख पाक्षिक रुपमा जिल्ला प्रशासन कार्यालय बारामा पठाउन पनि भनिएको छ ।
बिक्रेताहरुले एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा खन्याएर ग्यास खुद्रा बिक्री नगर्न भनिएको छ । समय–समयमा गरिने अनुगमन तथा निरीक्षणका क्रममा दिएको निर्देशन पालना गर्न प्रशासनले भनेको छ ।

Leave a Reply