नरेश गुप्ता
बरियारपुर,नेपाली कांग्रेस बाराको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला सभापती पदको चयन गर्न बुधवार भएको मतदानमा कसैको पक्षमा पनि आवश्यक मत प्राप्त नभएपछि सभापती पदका उम्मेदवार राजेश राय यादव र शम्भुबहादुर बुढाथोकीबीच आगामी फागुन २८ गते दोस्रो चरणमा मतदान हुने भएको छ ।
जिल्ला सभापती पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पहिलो चरणमा सबैभन्दा बढी र दोस्रो बढी मत प्राप्त गर्ने २ जना उम्मेदवारहरुबीच दोस्रो चरणमा निर्वाचन हुने जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिनुभयो । बुधवार भएको मतदानमा सभापती पदा उम्मेदवार राजेश रायले ८ सय ३३, बुढाथोकीले ८ सय ९ र रामानन्द यादवले ७ सय ८ मत प्राप्त गरेका थिए । सभापती पदका उम्मेदवार राय यादब र बुढाथोकी दुबैजना सस्थापन पक्ष र अर्का उम्मेदवार रामानन्द सस्थापन इतर पक्षका उम्मेदवार हुन । राय यादवलाई पूर्व जिल्ला सभापती राधेचन्द्र यादव र बुढाथोकीलाई पार्टी सहमहामन्त्री फरमुल्हा मन्सुरको समर्थन छ भने अर्का उम्मेदवार रामानन्दलाई खानेपानी तथा सरसफाइमन्त्री एंव पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीको समर्थन रहेको थियो ।
दोस्रो चरणको निर्वाचनमा रामानन्द निर्णायक देखिएका छन । उनको पक्षको समर्थन प्राप्त गर्नसक्ने उम्मेदवारले नै जित हात पार्ने देखिएको छ । रामानन्द यादव पक्षका समर्थकहरुले जिल्ला सभापती चयन गर्न प्रमुख भुमिका खेल्ने नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियारले बताउनुभयो ।
पहिलो चरणमा कुल मतदाता २ हजार ४ सय ८१ मध्ये २ हजार ४ सयले मात्रै मतदान गरेका थिए भने ३१ वटा मत बदर भएको थियो ।