सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा लगातार दोस्रो हार बेहोरेसँगै लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ। बिहीबार भएको खेलमा मधेश प्रदेशसँग पाँच विकेटले पराजित भएपछि लुम्बिनीको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो।
वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७९ रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका लागि ओपनर ऋतु रावलले सर्वाधिक ४१ रन बनाउँदै अविजित रहिन्। उनले ५६ बलमा पाँच चौका प्रहार गरिन्। सीमा थापाले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
लुम्बिनीको ब्याटिङ धराशायी बनाउने क्रममा मधेशकी सुस्मिता यादवले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २० रन खर्चेर चार विकेट लिइन्। रोजी कडारीले दुई तथा कप्तान पूजा महतोले एक विकेट हात पारिन्।
८० रनको सामान्य लक्ष्य पछ्याएको मधेशले १२।४ ओभरमै पाँच विकेट गुमाएर जित हासिल गर्यो। मधेशका लागि ओपनर एलिषा यादवले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा आठ चौकासहित सर्वाधिक ४२ रन बनाइन्।
कप्तान पूजा महतोले १५ र अनुराधा चौधरीले सात रनको योगदान दिइन्। साना प्रविनले चार तथा सरस्वती चौधरीले दुई रन बनाउँदा चाँदनी खातुन चार रनमा अविजित रहिन्।
लुम्बिनीका तर्फबाट सरु तिवारीले तीन विकेट लिइन् भने सुस्मिता भुषाल र सरस्वती पुनले समान एक विकेट हात पारे।
बलिङमा चार विकेट लिँदै लुम्बिनीको ब्याटिङ रोकेकी मधेशकी सुस्मिता यादव खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।
यसअघि पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित भएको लुम्बिनीले दोस्रो खेलमा पनि हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिनुपरेको हो।
















