निजगढ,बाराको परवानीपुर गाउँपालिकाले स्थानीय युवाहरूलाई रोजगारीमा प्राथमिकता दिने उद्योग, व्यवसाय तथा कलकारखानालाई करमा सहुलियत दिने भएको छ ।उद्योगले सार्वजनिक सूचना जारी गर्दै दश जनाभन्दा धेरै रोजगारी सृजना गर्ने उद्योग, व्यवसाय तथा कलकारखानाले त्यसको ५० प्रतिशत गाउँपालिका क्षेत्रका स्थानीय बासिन्दालाई रोजगारी दिएको प्रमाण पेस गरेमा व्यवसाय करमा थप १५ प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले जानकारी दिनुभयो । उहाँले स्थानीयको रोजगारी सृजना र उद्योग व्यवसायको पनि प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो सुविधा दिने निर्णय गरिएको बताउनुभयो ।त्यसैगरी गाउँपालिकाले उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा दर्ता गर्न आग्रह पनि गरेको छ ।गाउँपालिका कार्यालयबाट जारी सूचनामा परवानीपुर क्षेत्रमा सञ्चालित उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्दै नियमअनुसार वार्षिक व्यवसाय कर चुक्ता गर्न आग्रह गरेको हो ।‘परवानीपुर गाउँपालिका क्षेत्रभित्र रहेका उद्योग, व्यवसाय तथा कलकारखाना सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले गाउँपालिकामा अनिवार्य व्यवसाय दर्ता गरी व्यवसाय इजाजत प्रमाण पत्र लिनु पर्ने र वार्षिक रूपमा व्यवसाय कर तिर्नु सबैको दायित्व हुन आउँछ ।’ गाउँपालिकाद्वारा जारी सूचनामा थप उल्लेख गरिएको छ ।कार्यालयमा दर्ता भएका व्यवसायीहरूले चालू आर्थिक वर्ष भरीको व्यवसाय कर एकमुष्ट रूपमा बुझाएमा सो बापत लाग्ने शुल्कमा ४० प्रतिशत छुट समेत दिने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष लागि आर्थिक ऐन २०८०_०८१ को दफा १९ बमोजिम चालु आर्थिक वर्ष २०८०_०८१ को व्यवसाय कर अग्रिम रूपमा आश्विन मसान्तसम्म एकमुष्ट बुझाएमा व्यवसायीलाई व्यवसाय करमा लाग्ने शुल्कमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएकोले तोकिएको समयभित्र व्यवसाय कर बुझाएर सुविधाको लाभ लिन पालिका अध्यक्ष क्षेत्रीले आग्रह गर्नुभयो ।पथलैया वीरगञ्ज औद्योगिक करिडोरमा पर्ने सो गाउँपालिकाभित्र ठूला, मझौला र साना गरी करिव २ दर्जनको संख्यामा उद्योगहरु रहेको तिनीहरु मध्ये अधिकांश उद्योगहरु दर्ता भएर करको दायरामा आइसकेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।


















