काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँभन्दा बढी नगद र विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलस्थित स्नोलाइन होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्। उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको रकम लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा होटलमा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रहरीले उनीहरूको साथबाट ५० लाख ५० हजार रुपैयाँ नेपाली नगद बरामद गरेको छ। त्यसैगरी, ४ हजार २१५ ओमानी रियाल र ५५ अरब दिरामसमेत बरामद भएको एसपी थापाले बताएका छन्।
पक्राउ परेका दुवै जनामाथि प्रहरी वृत्त लैनचौरले थप अनुसन्धान अघि बढाएको छ। बरामद रकम तथा विदेशी मुद्राको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

















