वीरगन्ज,वीरगन्जमा मंगलबार फेरि कोरोना संक्रमणमका कारण दुईजनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ कि ६५ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बैशाख १३ गते हिजो नारायणी अस्पतालमा भर्ना गरिएकी ती महिलाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनको मंगलबार बिहान ३ बजे नारायणी अस्पतालमा उपचारका क्रममा मृत्युु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ४० बर्षीया महिलाको पनि नारायणी अस्पतालमा मृत्यु भएको छ । नारायणी अस्पतालमा बैशाख ९ गते भर्ना गरिएकोमा उनको सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड स्रोत व्यक्ति डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमित महिलाको आज बिहान करिब साढे एक बजेतिर मृत्यु भएको डाक्टर दासले बताउनुभयो । उनमा कडा खालको निमोनिया सहित श्वास प्रश्वासमा समेत समस्या देखिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यो सँगै आज मात्रै कोरोना संक्रमणका कारण वीरगन्जमा एकै दिन २ जनाको मृत्युु भएको छ ।