वीरगञ्ज, २५ कात्तिक। नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीले आज शक्ति प्रदर्शनसहित मोटरसाइकल र्‍याली तथा कोणसभा सम्पन्न गरेको छ। प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित देशभर सञ्चालन भइरहेको जनपरिचालन अभियानकै क्रममा वीरगञ्जमा गरिएको उक्त गतिविधिमा पार्टीका केन्द्रीयदेखि स्थानीय तहका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको थियो।

र्‍याली वीरगञ्जको विभिन्न मुख्य सडक हुँदै परिक्रमा गरिएको थियो। मोटरसाइकलमा पार्टीका झण्डा, नाराबाजी र मार्च गर्दै अगाडि बढेको जुलुसले शहरमा जनसम्पर्क प्रदर्शन गर्यो। र्‍याली घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा अध्यक्षता महानगर कमिटीका अध्यक्ष नवराज शर्माले गरेका थिए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजकुमार गुप्ता, केन्द्रीय सदस्य प्रभु हजरा, अरविन्द सिंह, मधेश प्रदेश कमिटीका उपाध्यक्ष तथा वीरगञ्ज महानगर इञ्चार्ज बिचारी यादव, पूर्व मेयर विजय कुमार सरावगी, प्रदेशसभा सदस्य बिना शर्मा, बुद्धिजीवी परिषद् मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, लगायतका नेताहरूको उपस्थिति तथा सम्बोधन रहेको थियो।

कार्यक्रममा बोल्ने अधिकांश नेता‌हरूले हाल देशका विभिन्न भागमा भएको “जेन्जी आन्दोलन” लाई स्वस्फूर्त युवा आन्दोलन नभई योजनाबद्ध राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरे। उनीहरूको भनाइमा राज्य संयन्त्र र शासन व्यवस्थालाई अस्थिर पर्न बाध्य बनाउने उद्देश्यले “विदेशी शक्तिहरूको एजन्डा” अनुसार आन्दोलनलाई नाम दिएर भड्काइने प्रयास भइरहेको छ।

उनीहरूले भने, “यो आन्दोलन होइन, राज्य विखण्डन र अस्थिरताको वातावरण सिर्जना गर्ने वैदेशिक चलखेलको दीर्घकालीन योजना हो। यसमा संलग्न घटक र निहित स्वार्थको छानबिन गरी कडा कारबाही हुनुपर्छ।”

वक्ताहरूले देशमा हाल कायम भएको “असंवैधानिक सरकार” को अन्त्य गर्दै जनतासामु पुनःसर्वोच्च जनमान्यताको आधारमा बनेको संसद पुनःस्थापना गर्नु नै एमालेको केन्द्रीय राजनीतिक अभियान रहेको बताए। सर्वोच्च अदालतले विगतमा जनमतको रक्षा गरेको उदाहरण स्मरण गराउँदै वक्ताहरूले वर्तमान अवस्थाबाट मुलुकलाई उकास्न “संसदीय म्यान्डेटको पुनर्स्थापना अपरिहार्य” रहेको दाबी गरे।

“यो सरकार जनमतविहीन, असंवैधानिक र दलाल चरित्रको सरकार हो। यसको दीर्घकालीन शासन देशका लागि घातक छ।” कार्यक्रमको सञ्चालन महानगर सचिव लियाकत अलीले गरेका थिए। पार्टीले घोषणा गरिसकेअनुसार, प्रतिनिधिसभा पुनःस्थापनाको मागसहितको जनपरिचालन अभियान देशका सबै प्रदेश, जिल्लाहरू हुँदै स्थानीय तहसम्म निरन्तर जारी रहने जनाएको छ।

Leave a Reply