काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लिएर भारतीय विपक्षी दलकी सांसद महुआ मोइत्राले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारमाथि प्रश्न उठाएकी छन्।

तृणमूल कांग्रेसकी सांसद मोइत्राले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहलाई नै सम्बोधन गर्दै भारतीय मूलका एक युवा नेता सौरभ दासलाई बेलायतको अक्सफोर्ड युनियनमा सम्बोधन गर्न जानबाट रोकिएको घटनाप्रति ध्यानाकर्षण गराएकी हुन्।

प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्री शाहलाई भारत भ्रमणका क्रममा आत्मीय स्वागत गरिरहेको प्रसंग उल्लेख गर्दै उनले आफ्नै देशका युवामाथि भने फरक व्यवहार भइरहेको भन्दै आलोचना गरेकी छन्।

प्रधानमन्त्री शाहको आधिकारिक एक्स खातालाई मेन्सन गर्दै मोइत्राले लेखेकी छन्, ‘प्रिय बालेन शाह, एकातिर हाम्रा प्रधानमन्त्री तपाईंसँग नजिकिँदै हुनुहुन्छ भने अर्कोतिर नेपाली मूलकी आमा भएका कारण भारतीय युवा सौरभ दासलाई अक्सफोर्ड युनियनमा बोल्न जानबाट रोकिएको छ।’

युवा आन्दोलनको बलमा प्रधानमन्त्री बनेका शाहलाई सम्बोधन गर्दै उनले भारतीय प्रधानमन्त्रीले आफ्नै देशका युवालाई कस्तो व्यवहार गरिरहेका छन् भन्ने विषयमा ध्यान दिन आग्रह गरेकी छन्। उनले यस घटनालाई लाजमर्दो भन्दै मोदी सरकारको आलोचना गरेकी छन्।

के हो सौरभ दासको प्रकरण ?

भारतमा युवाहरूको नेतृत्वमा रहेको ‘ककरोच जनता पार्टी’ (सीजेपी) का सहसंयोजक सौरभ दासलाई बेलायतको प्रतिष्ठित अक्सफोर्ड युनिभर्सिटी स्टुडेन्ट्स युनियन (अक्सफोर्ड युनियन) ले एक कार्यक्रममा सम्बोधन गर्न निमन्त्रणा दिएको थियो।

तर, सोमबार राति लन्डन उड्न लागेका दासलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन काउन्टरमा रोकिएको र विमान चढ्न नदिइएको समाचारमा उल्लेख छ।

दासका अनुसार अक्सफोर्डसहित क्याम्ब्रिज विश्वविद्यालय, लन्डन स्कुल अफ इकोनोमिक्स र एडिनबर्ग विश्वविद्यालयमा समेत आफ्नो राजनीतिक आन्दोलनबारे सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

अन्तर्राष्ट्रिय मञ्चमा सरकारको आलोचना हुने आशंकामा मोदी सरकारले आफूलाई विदेश जानबाट रोकेको आरोप दास र उनको पार्टीले लगाएका छन्।

यसैबीच, नेपालका प्रधानमन्त्री बालेन्द्र शाह सोमबार औपचारिक भ्रमणका क्रममा नयाँदिल्ली पुगेका थिए। त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

युवा आन्दोलनबाट उदाएका नेपाली प्रधानमन्त्रीलाई भारतमा भव्य स्वागत भइरहेका बेला आफ्नै देशका युवा नेतालाई विदेशमा बोल्न जानबाट रोकिएको घटनालाई जोड्दै सांसद मोइत्राले मोदी सरकारको व्यवहारमाथि प्रश्न उठाएकी हुन्।

Leave a Reply