वीरगन्ज,नेकपा एमालेले वीरगन्ज महानगरपालिका कमिटीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
नेकपा एमालेबाट मेयर उम्मेद्वारमा सिफारिस भएका विजय सरावगीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो आफ्नो मात्र नभई पार्टीको प्रतिबद्धता पत्र भएको बताउनुभयो । भोलिका दिनमा यहि प्रतिबद्धता पत्रलाई स्थानीय, प्रदेश र केन्द्रबाट संसाधन जुटाएर अधिकतम काम पूरा गर्न प्रयास गर्ने उहाँको प्रतिबद्धता छ ।
२०७४ को चुनावमा संघीय समाजवादी फोरमबाट मेयर बन्ुभएका उहाँले मेरो कसम शीर्षक दिएर प्रतिबद्धता गर्नुभएको थियो । तर त्यो पुरा नभएपछि आलोचना हुदै आएको छ ।
यसपटक एमालेकोतर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘मान्छेहरुले मलाई ‘मेरो कसम’ भनेर गाली गरे, वास्तवमा त्यो पार्टी (संघीय समाजवादी फोरम)को घोषणापत्र थियो । प्रतिबद्धता पुरा गर्ने दायित्व पार्टीको पनि हुन्छ ।’
सरावगीले मापदण्ड पुरा नगरी वीरगन्जलाई महानगर बनाएको र केन्द्र तथा प्रदेश सरकारले महानगरलाई नसघाएको आरोप पनि लगाउनुभयो ।
यो पटक एमालेबाट मेयर उठ्ने तयारीमा रहनुभएका उहाँले ग्रेटर वीरगन्जको अवधारणा अघि बढाउने बताउनुभयो । ‘१६ वटा वडा ग्रामीण वडा हो, त्यसमा नयाँ ग्रेटर वीरगन्जको धारणा ल्याउनैपर्छ’, सरावगीले भन्नुभयो, ‘चुनावमा जिते प्रतिबद्धता पूरा गर्न आवश्यक नीति कानुन बनाउँछु । बजेटको तर्जुमा गर्छु ।’
वीरगन्ज आईसीपीे नजिकै जग्गा अधिग्रहण गरेर नयाँ बस्ती बसाउने, काठमाडौंको बागमती करिडोर जस्तै सिर्सिया करिडोर बनाउने प्रतिबद्धता उहाँले दोहो¥याउनुभएको छ ।
एमाले अध्यक्ष जयप्रकाश थारुले वीरगन्जलाई नमुना, सुन्दर, स्वच्छ बनाउन र हरेक क्षेत्रको सर्वाङ्गिण हिसाबले विकास गर्न आफूहरु लागि पर्ने बताउनुभयो । एमाले पर्साका इन्चार्ज प्रभु हजाराले वीरगन्जमा नगर प्रमुख सरावगीले एक्लै लडेर भए पनि विकास निर्माणको काम अघि बढाएको बताउनुभयो । ‘सरावगीले तत्कालीन पार्टीबाट असहयोग भए पनि विकासको काम अघि बढाएका छन्,’ उहाँले भन्नुभयो ‘अब नेकपा एमालेसँग भिजन र योजना छ, काम गर्ने मान्छे महानगर प्रमुख आइसकेका छन् । विकासको गति बढ्छ ।’
‘विकास र समृद्धिको एक मात्र आधार, वीरगन्ज महानगरमा एमालेको सरकार’ भन्ने नारा दिइएको प्रतिबद्धता पत्रमा शिक्षा, जन स्वास्थ्य, पूर्वाधार, युवा सशक्तिकरण÷खेलकुद, सुशासन, पर्यटन प्रवर्द्धन, कृषि÷सहकारी, सामाजिक जागरण, निजी क्षेत्रसँग साझेदारी, भाषा साहित्य÷कला र सांस्कृति, स्वच्छ सुन्दर महानगर बनाउन गरिने क्रियाकलापसहित ११ वटा मुख्य विषयबस्तु छन् ।