काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा लामो समयदेखि विवादित नेपाल–भारत सीमा समस्याले अपेक्षित प्राथमिकता पाउन सकेन। नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीस्तरमा छलफल नभएको भारतीय पक्षले जनाएको छ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा भने सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई आवश्यक काम अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।

संयुक्त वक्तव्यमा सीमा स्तम्भको मर्मतसम्भार तथा पुनःस्थापनाका लागि भइरहेको संयुक्त स्थलगत कार्यको प्रगतिप्रति दुवै नेताले सन्तुष्टि व्यक्त गरेको जनाइएको छ। साथै, बाँकी सीमा समस्यामा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको उल्लेख छ।

तर, वक्तव्यमा सीमा विवाद रहेका क्षेत्रहरूको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छैन। नेपालले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेका कालापानी, लिपुलेक र लिम्पियाधुराका साथै सुस्तालगायतका विवादित क्षेत्रबारे समेत संयुक्त वक्तव्य मौन छ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि दुई प्रधानमन्त्रीबीचको वार्तामा लिपुलेकको विषय नउठेको स्पष्ट पारेका छन्।

सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले नेपालको आपत्तिका बाबजुद भारत र चीनले लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीस्तरमा छलफल भयो कि भएन भनेर प्रश्न गरेका थिए।

जवाफमा मिश्रीले भने, ‘आज लिपुलेकको विषय उठेन र यसबारे दुई पक्षबीच कुनै छलफल भएन।’

उनले लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक नाकाका रूपमा व्याख्या गर्दै लामो समयदेखि उक्त नाका दुई देशबीच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको दाबी गरेका थिए।

सीमा विवादमा नेपालको अडान कमजोर भएको टिप्पणी

प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको विषयलाई जोड्दै एक परराष्ट्रविज्ञले भारतसँग सीमा विवादको मुद्दा उठाउने नेपालको वार्तास्थितिमा त्यसले असर पारेको टिप्पणी गरेका छन्।

उनका अनुसार प्रधानमन्त्री शाहको विगतको अभिव्यक्ति नै अहिले भारतसँग सीमा विवादबारे स्पष्ट र कडा अडान राख्न बाधक बनेको हुन सक्छ।

यद्यपि, दुवै देशका नेताले अपनाएको ‘विकसित भारत र समुन्नत नेपाल’ शीर्षकको संयुक्त दृष्टिपत्रमा पानीका स्रोत, ऊर्जा, व्यापार, वाणिज्य तथा सीमासहितका बाँकी विषय आपसी छलफल र संवादबाट समाधान गर्ने उल्लेख छ।

यसले सीमा विवादलाई द्विपक्षीय संवादमार्फत समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याए पनि वार्ता कहिले, कसरी र कुन संयन्त्रमार्फत अघि बढ्ने भन्ने विषयमा स्पष्ट कार्यतालिका सार्वजनिक गरिएको छैन।

लामो समयदेखि कायम छ सीमा विवाद

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ। सन् २०१९ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै यी क्षेत्रलाई आफ्नो भूभागमा समेटेपछि विवाद थप चर्किएको थियो।

त्यसको प्रतिवादस्वरूप नेपालले सन् २०२० मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

नेपालले यी क्षेत्रलाई आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले आफ्नो उत्तराखण्ड राज्यको हिस्सा भएको बताउँदै आएको छ। यसअघि पनि सीमा विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत वार्ता गर्ने सहमति भएको थियो। तर, उक्त संयन्त्रले अपेक्षित गति लिन सकेको छैन।

प्रधानमन्त्री हुँदा लिपुलेकबारे मौन, मेयर हुँदा थियो कडा अडान

प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले लिपुलेकको विषयमा सार्वजनिक रूपमा कडा धारणा राख्दै आएका थिए। काठमाडौं महानगरपालिकाका प्रमुख रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लाग्दा उनले सामाजिक सञ्जालमार्फत लिपुलेक नेपालको भूमि भएको विषय चीनसमक्ष उठाउन आग्रह गरेका थिए।

भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाउँदै उनले तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपालको सार्वभौमिकतासँग जोडिएको विषयमा चीनसँग स्पष्ट रूपमा कुरा राख्न आग्रह गरेका थिए।

तर, अहिले प्रधानमन्त्रीकै हैसियतमा भारत भ्रमण गर्दा भारतीय समकक्षी मोदीसँगको उच्चस्तरीय वार्तामा लिपुलेकको विषय प्रवेश नै नगरेको भारतीय विदेश सचिवको भनाइ सार्वजनिक भएको छ।

यसले प्रधानमन्त्री शाहको विगतको अडान र भारत भ्रमणका क्रममा देखिएको कूटनीतिक व्यवहारबीचको भिन्नतालाई लिएर प्रश्न उठाएको छ। नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको सीमा विवाद अब सचिवस्तरीय संयन्त्रबाट कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।

Leave a Reply