वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा परम्परागत रूपमा लाग्दै आएको पाँचदिने बहुदरमाई मेला मंगलबारदेखि सुरु भएको छ। नगर प्रमुख सिंहासन साह तेलीले रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका हुन्।

मेलाको उद्घाटन समारोहमा नगर उपप्रमुख सुषमा कुशवाह, इन्जिनियर ईश्वरदेव यादव, स्वास्थ्य शाखा प्रमुख विदुर उप्रेती, वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्रप्रसाद यादव, वडा नम्बर ५ का अध्यक्ष सुनिल महतो कोइरीलगायत जनप्रतिनिधि तथा नगरपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, नगर प्रमुख पदका प्रत्यासी पन्नालाल प्रसाद साह, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको पनि सहभागिता थियो।

मेला समितिका अध्यक्ष जुगुल प्रसाद पटेलका अनुसार मंगलबारदेखि सुरु भएको मेला लगातार पाँच दिनसम्म सञ्चालन हुनेछ। मेलामा दर्शकको मनोरञ्जनका लागि विभिन्न खेलतमासा, सांस्कृतिक नाचगान तथा दंगल कुस्ती लगायतका कार्यक्रम राखिएका छन्।

स्थानीय धार्मिक आस्था र परम्परासँग जोडिएको बहुदरमाई मेलाले वर्षौंदेखि क्षेत्रको संस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ।

मेलाले स्थानीय व्यापारी तथा साना व्यवसायीलाई व्यापारिक अवसर प्रदान गर्नुका साथै आसपासका क्षेत्रका सर्वसाधारणलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

पाँच दिनसम्म सञ्चालन हुने मेलामा सहभागी भई धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै मनोरञ्जन लिन आयोजक समितिले स्थानीय बासिन्दा, श्रद्धालु तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply