काठमाडौँ । लगातार तीन कारोबार दिन ओरालो लागेको सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.६२ अंकले बढेर २ हजार ६२८ अंकमा पुगेको छ।
अघिल्लो कारोबार दिन ११ अंकले घटेको बजारमा बिहीबार भने खरिदकर्ताको चाप केही बढेको देखिएको छ। कारोबारमा आएका कम्पनीमध्ये १३८ वटाको सेयर मूल्य बढ्दा १३२ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
यद्यपि, बजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो दिन ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूह ०.६७, बैंकिङ ०.५४, फाइनान्स ०.३५ र व्यापार समूह ०.२३ प्रतिशतले उकालो लागेका छन्।
अर्कोतर्फ अन्य समूहमा भने गिरावट देखिएको छ। विकास बैंक ०.०४, जलविद्युत् ०.०५, जीवन बीमा ०.२२, निर्जीवन बीमा ०.३०, लगानी ०.३८, माइक्रोफाइनान्स ०.१५ र अन्य समूह ०.५३ प्रतिशतले घटेका छन्।
कम्पनीगत आधारमा बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल तराईको ५.६३, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८१, मन्दाकिनी हाइड्रोपावरको ४.४६ र बेस्ट फाइनान्सको ३.४४ प्रतिशतले मूल्य वृद्धि भएको छ।
त्यस्तै, एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.४३, मुक्तिनाथ कृषि कम्पनीको ४.३२, नेपाल वेयरहाउजिङ कम्पनीको ३.६३ र बेनी हाइड्रोपावरको ३.५५ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल, साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट अगाडि रहेका छन्।

















