सिमरा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मन्त्रालयले रूख कटान प्रक्रिया अघि बढाइ दिन फेरि वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरेको छ ।

यही विषयमा पर्यटनमन्त्री प्रेमबहादुर आले र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवबीच छलफल समेत भएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता सहसचिव टोकराज पाण्डेले पहिलो चरणमा कटान गर्नुपर्ने रूख सम्बन्धी फाइल मन्त्रिपरिषदमा लैजानका लागि सहजीकरण गरिदिन वन मन्त्रालयलाई पत्रमार्फत आग्रह गरिएको जानकारी दिनुभयो  । विगतमा पनि विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक र पहुँचमार्ग निर्माणका लागि ४ हजार २ सय ३२ वटा रूख कटानको प्रस्ताव यथाशीघ्र मन्त्रिपरिषद लगिदिन पर्यटन मन्त्रालयले वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको थियो ।

रूख कटानका लागि नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौताको अवधि भने सकिएको छ । पत्राचारपछि पर्यटनमन्त्री आलेसँग भेट भए पनि रूख कटानका विषयमा विस्तृत कुराकानी नभएको वन तथा वातावरणमन्त्री यादवले बताउनुभयो  । उहाँले आफू विमानस्थल निर्माणको पक्षमा रहेको पनि बताउनुभयो  ।

बाराको पूर्व–पश्चिम राजमार्गको निजगढसँग जोडिएको जीतपुरसिमरा उपमहानगरपालिका र कोहल्बी नगरपालिकाको टाँगियावस्तिमा अन्तर्राष्ट्रिय विमानस्थल प्रस्ताव गरिएको छ । रूख कटान र विमानस्थल सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन ईआईएमा विमानस्थल निर्माणका लागि साना–ठूला गरी साढे २४ लाख रूख काट्नुपर्ने उल्लेख छ ।

विमानस्थल बनाउने भनिएको १ हजार ९ सय हेक्टरअन्तर्गत दुईवटा ब्लकमा रूखको गणना समेत भइसकेको छ । गणनाअनुसार २ वटा ब्लकमा मात्र ५७ हजार ३ सय ५० वटा रूख छन्न् । डिभिजन वन कार्यालय बाराले १ हजार ९ सय हेक्टरलाई १२ वटा ब्लक बनाएर रूख गणना गरेको थियो । नागरिक उड्यन प्राधिकरणले बजेट दिन छाडेपछि रूख गणना डेढ वर्षअघि नै रोकिएको डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here